मधेश प्रदेशका मुख्यमन्त्री सतिस सिंहले सप्तरी सदरमुकाम राजविराज स्थित नीजि अस्पतालहरूमा अनुगमन गरेका छन् । मुख्यमन्त्री सिंहले ७ वटा निजी अस्पतालहरूमा आइतबार अनुगमन गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयकाे अनुसार, अनुगमन गरेका ७ वटा अस्पतालमध्ये दुई वटा अस्पताल नियम विपरीत सञ्चालन गरेको पाइएको छ ।
अनुगमनकाे क्रममा स्थानीय तहबाट १५ शय्याको सेवा सञ्चालन अनुमति पत्र प्राप्त गरेको भएता पनि मापदण्ड पुरा नगरेका अनार भुवनेश्वर हस्पिटल प्रालि र सञ्जनदीप हस्पिटललाई दुई महिनाभित्र मापदण्ड पुरा गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिइएको छ ।
यस्तै नियमविपरीत सञ्चालन गरेको भेटिएपछि मुख्यमन्त्री सिंहले प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर र भारती इमेजिङ सेन्टरलाई तत्काल बन्द गर्न निर्देशन दिएको छ ।
सेवा सञ्चालन अनुमति प्राप्त गरेको ५० शय्याको युनिक सिटी अस्पताललाई दुई महिनाभित्र नवीकरण गराउन सुझाव दिएकाे छ ।
दुई सय शय्याको छिन्नमस्ता अस्पताललाई भने सरसफाई व्यवस्थापनमा थप कार्य गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएको छ ।