कृष्णानन्द भट्ट
काठमाडौं। चौधरी ग्रुपद्वारा सञ्चालित सी. जी. फुड्स पार्क, भैंसेपाटीमा आज अपरान्ह अज्ञात समूहद्वारा आक्रमण गरिएको छ। दिउँसो ३ बजेतिर बा ४ ख १०८५ नम्बरको बसमा आएको नियोजित जत्थाले फुड्स पार्कमा कार्यरत पुरूष र महिला कर्मचारीमाथि पनि हातपात र भौतिक रूपमा तोडफोड गरेको छ।
फुड्स पार्कमा पुग्ने बित्तिकै उनीहरूले ‘नेपाल सरकार मुर्दावाद’ जस्ता नारा लगाउदै चौधरी ग्रुपका व्यवस्थापन माथि अभद्र एवं असभ्य व्यवहार गरेका थिए। पार्कमा कार्यरत महिला कर्मचारीमाथि हातपात भएपछि फुड्स पार्कमा कार्यरत महिला कर्मचारीले प्रतिकार गरे पश्चात आक्रमणकारी पछि हटेका थिए। लगत्तै भैंसेपाटी प्रहरीले आक्रमण गर्न आएका मानिसहरुलाई गिरफ्तार गरेको थियो।
सीजी ग्रुपले घटनाको विरोध गर्दै,’देशको प्रमुख औद्योगिक घराना चौधरी ग्रुपद्वारा सञ्चालित उद्योगमाथि दिनदाहाडै आक्रमण गर्नु अत्यन्तै निन्दनीय छ। यो घटनाको हामी भर्त्सना गरेको छ।
सिजी ग्रुपले घटनामा संलग्न व्यक्तिमाथि कानूनी कारबाहि गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ। भविष्यमा यस्ता घटना घट्न नदिन र औद्योगिक वातावरण कायम राख्नको लागि तत्काल पहल गर्न सम्वन्धित निकायलाई ध्यानाकर्षण गराएको छ।










