सप्तरी जिल्लाको राजविराज नगरपालिका–६ स्थित जिल्ला कारागारमा बुधबार दिउँसो भएको अप्रत्याशित विद्रोहपछि २०५ जना कैदी फरार भएका छन्। कारागारको A-Block मा भएको आगजनी र होहल्लाको घटनापछि जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त प्रयासमा ३३ जना कैदी पुनः नियन्त्रणमा लिइएका छन्।
प्रहरीका अनुसार, घटनास्थलमा सुरक्षाकर्मी पुग्नुअघि कैदीहरूबाट कारागारको कपडा र दाउरा जलाएर आगलागी गराइएको थियो। आगो कसरी लाग्यो भनेर सुरक्षाकर्मी हेर्न जाँदै गर्दा ३९७ कैदीमध्ये २०५ जना भागेको सूचना प्राप्त भएको थियो।
सुरक्षाकर्मीले कारागार परिसरबाट करिब ५०० मिटर पश्चिमतर्फ रहेको A ब्लकको पछाडिको पर्खालमा बनाइएको सानो प्वालमार्फत कैदीहरू भागेको पुष्टि गरेको छ। प्रहरीको गोलाबारी र बल प्रयोग
स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूले हवाई फायर समेत गर्नुपरेको थियो। प्रहरीले प्रयोग गरेको फायरिङ विवरण यसप्रकार छः
SLR राइफलबाट ३० राउण्ड फायर
ग्यास गनबाट ७ राउण्ड
पेस्तोलबाट ३ राउण्ड
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट थप ग्यास गनबाट १२ राउण्ड
थप रूपमा, ५ लाईभ र ३ डमी SLR राउण्ड पछि फेला पारिएको प्रहरीको विवरणमा उल्लेख छ। अग्निनियन्त्रणमा दमकलको सहयोग
उक्त आगलागी मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरको सम्पर्क कार्यालय, राजविराजबाट आएको दमकलको सहयोगमा ठीक १८:०० बजे पूर्णरूपमा नियन्त्रणमा आएको थियो।
आगलागीबाट A ब्लकको पहिलो तलाको एउटा कोठा पूर्णरूपमा क्षतिग्रस्त भएको छ। साथै, १० थान टेलिभिजन, लत्ता–कपडा, १ थान पानी तान्ने मोटर, १३ थान सिलिङ फ्यान र १३ थान एक्जिट फ्यान समेत जलेर नष्ट भएका छन्।
कारागार सुरक्षा व्यवस्था यथावत्
घटनापछि कारागार सुरक्षामा निम्न सुरक्षाकर्मीहरू खटिएका थिएः
नेपाली सेना – सहायक सेनानीको कमाण्डमा ४० जना
नेपाल प्रहरी – प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) को कमाण्डमा २७ जना
सशस्त्र प्रहरी बल – सशस्त्र प्रहरी नायब निरीक्षक को कमाण्डमा ३० जना
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार थप कैदीहरूको खोजी कार्य तीव्र पारिएको छ र स्थानीयहरूलाई कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरिएको छ।
"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।