समाचार

नगर प्रमुख ललन गुप्ता र नगर प्रहरीविरुद्ध जाहेरी

पब्लिक प्रेस ।
कञ्चनरुप (सप्तरी), — सप्तरीको कञ्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ता सहित नगर प्रहरीका ८ जना विरुद्ध आज पत्रकार अनिश शेखले अभद्र व्यवहार, जातीय भेदभाव र कुटपिटको आरोपमा जाहेरी दिएका छन्।

पत्रकार शेखले इलाका  प्रहरी कार्यालय कञ्चनपुरमा दिएको जाहेरीअनुसार २०८२ असोज २८ गते दिउँसो करिब २ बजे कञ्चनरुप नगरपालिका हाताभित्र घटना भएको हो। उनी शिक्षक तथा कर्मचारीहरुले तलब र सुविधा नपाएको विरोधमा सञ्चालन गरेको आन्दोलनको समाचार संकलनका क्रममा घटनामा परेका हुन्।

शेखका अनुसार समाचार संकलनका क्रममा नगर प्रमुख गुप्ताले उनलाई “तँ मिया (मुस्लिम) कुन पत्रकार हो?” भन्दै अपमानजनक शब्द प्रयोग गरी अभद्र व्यवहार गरेका थिए। सो क्रममा गुप्ताको आदेशमा नगर प्रहरीका सिर्जना , मनिष चौधरी, सुरेश यादव, सरोज सदा, सुदिप चौधरी, अमरेन्द्र साह तथा नगर शिक्षा समितिका सदस्य प्रमोद कटुवाललगायतले उनलाई गालीगलौज गर्दै कुटपिट गरेका आरोप जाहेरीमा उल्लेख छ।

जाहेरीमा शेखले आफूमाथि भएको जातीय भेदभाव, अभद्र व्यवहार र कुटपिटका घटनाका लागि मुलुकी अपराध संहिता, बमोजिम कारबाही गर्न माग गरेका छन्।

शेखले आफू पत्रकारका हैसियतले समाचार संकलन गर्ने क्रममा कुटपिटमा परेको र मोबाइलमा रहेका सामग्री समेत डिलिट गरिएको दाबी गरेका छन्। उनले न्यायिक कारबाहीका लागि प्रहरीलाई आवश्यक अनुसन्धान गरी दोषीहरूमाथि कडा कारबाही गर्न आग्रह गरेका छन्।

जाहेरीबारे जानकारी दिँदै इलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर लेखबहादुर विष्टले उक्त जाहेरी आफूले बुझिसकेको र कानुनी प्रक्रिया अघि बढाउने बताए। उनले भने, “हामीले जिल्ला प्रहरी प्रमुखसँग कुरा गर्छाै, घटनास्थलको मुचुल्का उठाउने र स्थानीयहरूसँग सोधपुछ गरी आवश्यक कानुनी कारबाही अघि बढाउने,” भन्दै घटना गम्भीर भएकाले निष्पक्ष अनुसन्धान गरिने बताए।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button