पब्लिक प्रेस संवाददाता
राजविराज :गत वैशाखमै सञ्चालनमा आउने भनिएको राजविराज नगरपालिका-२ राजदेवीस्थितको बसपार्कको निर्माणकार्य बजेट अभावमा अलपत्र परेको छ।
चार पटक म्याद थप्दासमेत निर्माणाधीन सो बसपार्क सञ्चालनमा आउन नसकेको शघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय राजविराजका इन्जिनियर राजकुमार मिश्रले जानकारी दिएको छ।
चालु आर्थिक वर्षमा मन्त्रालयले बजेट नदिँदा निर्माण कम्पनीको डेढ करोड रुपैयाँ भुक्तानी हुन सकेको छैन ।करिब २० प्रतिशत कार्य सम्पन्न गर्न आवश्यक बजेटसमेत नहुँदा पार्क सञ्चालनमा ढिलाइ भएको उनले बताए ।
सेटर निर्माण,गेट निर्माण,सडक तथा नाला निर्माण र झ्यालढोकाको कामका लागी मन्त्रालयले आवश्यक बजेट नपठाएकोले निर्माण कार्य अलपत्र परेको हो। पाँच बिघा बढी क्षेत्रफलमा रहेको उक्त बसपार्क सञ्चालन हुने आशामा सप्तरीवासी वर्षौंदेखि प्रतीक्षारत भएपनि सञ्चालनको टुङ्गो अझैसम्म लाग्न सकेको छैन ।
सिनर्जी विल्डर्स प्रालि,कुलेश्वर,काठमाडौंलाई वि.स.२०७४ साल पुस महिनाको १९ गते दिएको कार्यदेश बमोजिम उनले चार वर्षभित्रमा उक्त बसपार्कको निर्माण सम्पन्न गरि नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने थियो ।वि.स.२०७७ साल पुस महिनाको १८ गते सम्झौताअनुरुप म्याद सकिएयता पटकपटक गरि चार पटक म्याद थप गरिसकेको भएपनि विभिन्न कारणले उक्त संरचना निर्माणकार्य अलपत्रमा पर्ने गरेको पाइएको छ।
दर्जनौं सुविधाहरू रहेको उक्त बसपार्क निर्माणकार्य कार्यका लागी १६ करोड ३८ लाख ९६ हजार ५ सय १९ रुपैयाँ लागत अनुमान गरिएको छ।जस मध्ये अहिलेसम्म ८० प्रतिशत निर्माणकार्य सम्पन्न भईसकेको पाइएको छ।सोही बमोजिमको भौतिक प्रगति हासिल गरे बापत निर्माण कम्पनीलाई अहिलेसम्ममा ११ करोड ४८ लाख रुपैयाँ भुक्तानी गरिसकेको इन्जिनियर मिश्रले बताए ।
सुविधासम्पन्न उक्त बसपार्कमा एउटा ट्रमिनल भवन,एउटा बैंक शाखा,रेस्टुरेन्ट,प्रतीक्षालय,पसलका लागी १२ वटा सेटर,क्लक टावर,दुइटा गार्ड हाउस,महिलापुरुषका लागी शौचालय,लोड पार्किङ,भिजिटर पार्किङ,टेक्सी स्टेन्ड,वेटिङ्ग सेड,सर्भिस सेन्टर,फ्यूल स्टेसन र दुइटा गेटको सुविधाहरु रहेको छ।









