धर्म

मिथिलाञ्चलमा छठ पर्व सुरू

पब्लिक प्रेस संवाददाता
राजबिराज कार्तिक २० गते ।
मिथिलाञ्चल सहित मधेशमा मनाइने छठ पर्व मंगलबारदेखी धार्मिक विधिपूर्वक सुरु भएको छ ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको जिल्ला   सप्तरी  माेह्तरी , धनुषा, सिरहा, सुनसरी   मोरङ, सर्लाही, रौतहट, बारा, पर्सा लगायत मिथिलाञ्चलभरी धुमधामका साथ सुरु भएको छ । याे पर्व मंगलबारदेखि शुक्रबारसम्म धार्मिक विधि गर्दै मनाइने परम्परा रहि आएको छ ।

सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता मानिन्छ । यसपर्वको पहिलो दिन यधपी मंगलबार व्रतालुहरुले “नहा खा” अर्थात् नुहाएर खाने गर्दछन् ।

पहिलाे दिन व्रतालुले जीउ चोख्याउने काम गर्दछन्, दोस्रो दिन खर्ना गर्छन् । बुधबार व्रतकहरूले दिनभरि उपवास( निराहार )बसेर राति छठ देवतालाई आगमनको निम्तो दिदै कूल देवताको पूजा गर्नेछन् र राती अरवा- अरबाइन (विनानुन हालेको) खानेकुरा भाेजन ग्रहण गर्छन् ।

षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान पिसान गरी सो बाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खानेकुरा ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिर, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।

त्यसदिन व्रतालुहरुले सन्ध्याकालीन अर्घ्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य सामग्री पालोपालो गरी अस्ताउँदाे सूर्यलाई अर्घ्य अर्पण गर्दछन् ।

त्यसको भोलिपल्ट अर्थात् शुक्रबार बिहानै पुनः घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याइ प्रातकालीन उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्न गर्दछन् ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button