समाचार

राजेश कुमार यादव कोशी प्रदेश अध्यक्षमा चयन

पब्लिक प्रेस ।
सुनसरी ।
नेपाल समाजवादी ट्रेड युनियन महासंघको कोशी प्रदेश अध्यक्षमा राजेश कुमार यादव चयन भएका छन्। महासंघको केन्द्रीय समितिको छैटौं पूर्ण बैठकले गरेको निर्णयअनुसार यादवलाई कोशी प्रदेशको नेतृत्व जिम्मेवारी प्रदान गरिएको हो।
महासंघको बैठक २०८३ जेठ १५ गते काठमाडौँस्थित मुलपानी क्रिकेट डाँडामा सम्पन्न भएको थियो। अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकमा प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रशिक्षण विभाग प्रमुख सोनाम सिं स्याङ्तान प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
बैठकले संगठन सुदृढीकरण, श्रमिक अधिकार विस्तार तथा आगामी सम्मेलनसम्मका संगठनात्मक कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको महासचिव प्रकाश भट्टराईले जानकारी दिएका छन्।
निर्णयअनुसार आगामी भदौ २० गते काठमाडौँमा हुने महासंघको सम्मेलनसम्म संगठन विस्तार तथा तीन महिने अभियान सञ्चालन गरिनेछ। साथै विभिन्न प्रदेश र पेसागत संघहरूको कार्यविभाजन पनि पुनः व्यवस्थित गरिएको छ।
महासंघले श्रमिकका सेवा–सुविधा, अधिकार तथा नीतिगत सुधारका विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ। साथै, पेसागत संघहरूको नवीकरण, नयाँ संघ दर्ता तथा संगठनात्मक संरचना मजबुत बनाउने कार्यलाई प्राथमिकतामा राखिएको छ।
कोशी प्रदेशको नेतृत्व पाएका राजेश कुमार यादवले श्रमिक अधिकारको संरक्षण, संगठन विस्तार र प्रदेशस्तरीय गतिविधिलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
महासंघले आगामी दिनमा श्रम क्षेत्रका मुद्दालाई सशक्त रूपमा उठाउँदै “श्रम जागरण” अभियानलाई निरन्तरता दिने जनाएको छ

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button