हनुमाननगर (सप्तरी) २२ माघ: सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ९ स्थित ऐतिहासिक महासेठ पोखरी क्षेत्रमा तनाव उत्पन्न भएको छ। नगरपालिकाले कुनै पूर्व जानकारी बिना २१ गते बुधबार नगर प्रहरी परिचालन गरी स्थानीय सुकुम्बासी घरको टाँटी, चुलो र तुलसीको मठ भत्काएपछि विवाद चुलिएको हो।
नगर प्रमुख बिरेन्द्र माझीले न्यायिक समितिको निर्णयअनुसार सार्वजनिक जग्गामा ३ फिटको बाटो सफा गर्ने क्रममा उक्त कार्य गरिएको दाबी गर्नुभएको छ। उहाँले कुनै घर नभत्काइएको र केवल बाटो खोल्ने काम मात्र भएको जिकिर गर्नुभयो।
तर, सोही नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समिति संयोजक सरिता देवी यादव (सिपलिया) ले भने घटनाबारे आफू पूर्णतः अनभिज्ञ रहेको बताउनुभएको छ। “आज भएको घटना र निर्णयबारे मलाई कुनै जानकारी छैन, न त पूर्व सूचनाबारे नै मलाई अवगत गराइएको छ,” उहाँले भन्नुभयो। यता वडा नं. ९ का वडाध्यक्ष हरिशचन्द्र वर्माले पनि सो कार्यमा वडासँग कुनै समन्वय नगरिएको स्वीकार गर्नुभएको छ।
स्थानीय बासिन्दाहरूले भने व्यक्तिगत स्वार्थ र पहुँचका आधारमा आफूहरूलाई उठिबास लगाउन खोजिएको आरोप लगाएका छन्। स्थानीय लालबाबु दासका अनुसार, रुवी देव नामकी एक व्यक्तिको निजी जमिनसम्म बाटो पुर्याउनका लागि दशकौँदेखि बसिरहेका ६ परिवारलाई संकटमा पारिएको हो।
पीडित सिन्दु देवी दासले दुखेसो पोख्दै भन्नुभयो, “चिसोमा ओत लाग्ने टाँटी र खाना पकाउने चुलो भत्काइदिए। विरोध गर्दा नगर प्रहरीले लठ्ठीले पिट्न खोजे। हामी गरिबलाई न्याय दिने कोही भएन।” चिसो बढ्दै गएको समयमा एक्कासी बस्तीमा पसेर नगर प्रहरीले संरचना भत्काउन थालेपछि ६ परिवारको बिचल्ली भएको छ।
घटनाको समयमा स्थानीयले भिडियो खिच्न खोज्दा नगर प्रहरीले मोबाइल खोसेको आरोप समेत लगाएका छन्। एक स्थानीय महिलाका अनुसार नगर प्रमुखकै उपस्थितिमा महिलाहरूमाथि अभद्र व्यवहार र हातपात भएको छ, जसलाई स्थानीयले ‘निन्दनीय’ कार्य भनेका छन्।
यो पोखरी ऐतिहासिक रूपमा स्थानीय महासेठ परिवारले निर्माण गराएका थिए। त्यतिबेला सोही मिलमा काम गर्ने गरीब परिवारहरू यहाँ बसोबास गरेका थिए। भूमि सुधार ऐन लागू भएपछि यो जग्गा सरकारी स्वामित्वमा आएको हो। हाल नगरपालिकाले पोखरीको सौन्दर्यीकरणका लागि तीनैतिरबाट पर्खाल घेरेपछि पहिले प्रयोग भइरहेको सानो बाटो बन्द भएको छ। सोही बाटोको विकल्प खोज्ने क्रममा नगरपालिकाले बस्तीमाथि बल प्रयोग गरेको हो।
—–










