पब्लिक प्रेस ।
पोखरा ।
मनिपाल शिक्षण अस्पतालले आफ्नो वार्षिक कार्यक्रमको रूपमा ‘मनिपाल एक्सप्रेसन कार्यक्रम २०२५’ आयोजना गर्न लागेको छ। कार्यक्रम मार्च २९ बाट सुरु हुनेछ। कार्यक्रमका प्रोग्राम सेक्रेटरी डा. कृष्ण यादवले यसबारे जानकारी दिँदै यस्ता गतिविधिहरूले ऊर्जा थप्दै चिकित्सकहरूलाई तनावमुक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रममा खेलकुद, डान्स, व्यान्डको गायन, कविता, कथा लेखन, र वादविवाद प्रतियोगितालगायत विविध गतिविधिहरू समावेश गरिने छ। यसले चिकित्सकहरूलाई व्यस्त दैनिकीबाट अलग भई नयाँ जोस र ऊर्जा प्राप्त गर्न प्रेरित गर्ने डा. यादवको विश्वास छ।
डा. यादवका अनुसार, यो कार्यक्रमले “कलिला मस्तिष्क र बालापन पछाडि छोडेका मनहरूलाई एकीकृत गर्न” मञ्च प्रदान गर्नेछ। मनिपाल शिक्षण अस्पतालले विगतका वर्षझैँ यसपटक पनि कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ उचाइमा पुर्याउने प्रयास गरेको छ।
कार्यक्रमले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरूबीच सृजनात्मकता र सहकार्यलाई प्रवर्द्धन गर्दै मनोबल उच्च राख्न योगदान पुर्याउने अपेक्षा गरिएको छ।










