समाचार

यसवर्ष नेपालमा मनसुन छिटाे भित्रिने सङ्केत

 

काठमाण्डौ – यसवर्ष मनसुन छिटो भित्रिने सङ्केत देखिएको छ । भारतमा औसतभन्दा अगाडि नै मनसुन भित्रिएकाले नेपालमा पनि छिटो भित्रिने संकेत देखिएको मौसमविदले बताएका छन् । नेपालमा सामान्यतया जुन १३ मा मनसुन भित्रिने गर्छ ।

भोलि जुन १ तारिख हो ।भारतमा मनसुन भित्रिएको एक हप्तादेखि १० दिनसम्ममा नेपाल भित्रिने गर्छ । भारतमा हिजो मनसुन भित्रिसकेकाले अबको एक हप्तादेखि १० दिनभित्र नेपालमा पनि मनसुन भित्रिने सम्भावना रहेको मौसमविद सरोज पुडासैनीले जानकारी दिनुभयो ।

जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीकाअनुसार यसवर्षको मनसुन औसतभन्दा दुई दिन अगाडि भारतको केरलामा र छ दिन अगाडि भारतको आसाम, मेघालयसम्म पुगेको छ । यो वर्ष करिब एक हप्ताअघि नै मनसुन भारतको आसाम भित्रिएकाले नेपालमा पनि एक हप्ताअघि नै मनसुन भित्रिने सम्भावना बढेको उपे्रतीको भनाइ छ । मनसुन भित्रिन कम्तिमा एक हप्ता लाग्ने भएकाले तापक्रम अझै बढ्ने मौसमविदको भनाइ छ ।

अहिले नेपालको मौसममा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँहरु तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति पनि कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँहरुमा तथा लुम्बिनी प्रदेशका पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button