धर्म

कवयित्री करुणा झाद्वारा छठ व्रतालुलाई वस्त्र वितरण

पब्लिक प्रेस ।

राजविराज। मैथिली भाषा र मिथिलाको पहिचानलाई साहित्यका माध्यमबाट जीवन्त राख्दै आउनुभएकी कवयित्री करुणा झाले छठ पर्वको अवसरमा ५० भन्दा बढी व्रतालु महिलालाई वस्त्र वितरण गर्नुभएको छ।

सोमबार राजविराजस्थित शान्ति टोलमा रहेको आफ्नै निवासमा आयोजित कार्यक्रममा उहाँले  जिल्लाका विभिन्न स्थानीय तहबाट आएका छठ व्रतालु महिलालाई वस्त्र प्रदान गर्नुभएको हो।

हरेक वर्ष छठ पर्वको अवसरमा व्रतालु महिलालाई वस्त्र सहयोग गर्दै आएको उल्लेख गर्दै कवयित्री झाले यस वर्ष पनि ५० भन्दा बढी व्रतालुलाई वस्त्र वितरण गरिएको जानकारी दिनुभयो।

धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक परम्परासँग जोडिएको छठ पर्वका अवसरमा व्रतालु महिलालाई वस्त्र प्रदान गर्नु आफ्नो सामाजिक तथा धार्मिक दायित्व भएको उहाँले बताउनुभयो।

चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइने छठ पर्वको पहिलो दिन कात्तिक २७ गते नहाय–खाय, दोस्रो दिन कात्तिक २८ गते खरना, तेस्रो दिन कात्तिक २९ गते साँझ अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य र चौथो तथा अन्तिम दिन कात्तिक ३० गते बिहान उदाउँदो सूर्यलाई उषा अर्घ्य अर्पण गरिनेछ।

सूर्यदेव र छठी माताको आराधना गरिने यस पर्वमा व्रतालु महिलाले कठोर व्रत, उपवास र विभिन्न धार्मिक अनुष्ठान गर्ने परम्परा छ। छठ पर्वका अवसरमा गरिएको यस प्रकारको सहयोगले धार्मिक आस्था, सामाजिक सद्भाव र सेवाभावलाई थप प्रोत्साहन गर्नुका साथै मिथिलाको मौलिक संस्कृति र परम्पराको संरक्षणमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button