राजनीतिसमाचार

जनमतको महासचिवमा २९ वर्षीय निहाल सिंहको उम्मेदवारी घोषणा

सप्तरी । जनमत पार्टीको दोस्रो महाधिवेशनमा सप्तरीका २९ वर्षीय निहाल सिंहले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ निवासी सिंहले आगामी असोज १० गते वीरगञ्जमा हुने पार्टीको दोस्रो महाधिवेशनमा महासचिव पदमा निर्वाचन लड्ने घोषणा गरेका हुन्।

स्थानीय स्तरमा लोकप्रिय युवा समाजसेवी तथा सामाजिक अभियन्ताका रूपमा परिचित सिंहले गरिब, विपन्न तथा निमुखा समुदायका समस्यामा सहयोग गर्दै आएको दाबी गरेका छन्। सामाजिक सेवाका क्रममा समुदायका समस्या र नागरिकका पीडा नजिकबाट बुझेकाले त्यसलाई पार्टीको नीति निर्माण तहसम्म पुर्‍याउन आफूले उम्मेदवारी दिएको उनले बताए।

पार्टीमा पुस्तान्तरणको आवश्यकता रहेको भन्दै युवाको नेतृत्व र सहभागिता बढाउन आफूले उम्मेदवारी घोषणा गरेको सिंहले बताएका छन्। पार्टीको मूल संगठनमा सक्षम, योग्य र शिक्षित युवालाई अवसर दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

जनजी आन्दोलनको मर्मलाई आत्मसात गर्दै संगठन निर्माणदेखि पार्टीलाई परेको समस्यामा २४ सै घण्टा खटिने प्रतिबद्धता समेत सिंहले व्यक्त गरेका छन्।

‘पार्टीको नीति निर्माण तहमा युवाका समस्या र मुद्दालाई प्रभावकारी रूपमा प्रतिनिधित्व गराउने मेरो मुख्य उद्देश्य हो,’ सिंहले भने, ‘युवालाई नेतृत्वमा स्थापित गर्दै संगठनलाई थप सुदृढ बनाउने गरी काम गर्नेछु।’

सिंहले आफ्नो उम्मेदवारी पार्टीभित्र युवाको भूमिका र प्रतिनिधित्व बढाउने उद्देश्यले अघि सारेको बताएका छन्। आगामी महाधिवेशनबाट नेतृत्व चयनसँगै पार्टीको संगठनात्मक संरचनामा युवाको सहभागिता बढाउनुपर्ने उनको भनाइ छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button