प्रहरी प्रशासन

सप्तरीमा ‘पैसा छापिदिने’ गिरोहका सदस्य पक्राउ, अपहरण र गोलीकाण्डमा समेत संलग्नता खुलासा

पब्लिक प्रेस

सप्तरी

सप्तरीमा लामो समयदेखि “डब्ल पैसा” अर्थात् पैसा डब्बल बनाइदिने प्रलोभन देखाएर सर्वसाधारणबाट करोडौं रुपैयाँ असुल्दै आएको गिरोहका एक मुख्य आरोपी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरी खड्क नगरपालिका–६ वीरपुर निवासी ४८ वर्षीय मो. मुमताज मियाँ रहेका छन्। उनीमाथि यसअघि नै १३ जना पीडितले जाहेरी दर्ता गराएका थिए।
सप्तरी र सुनसरीका पीडितहरूले २०८१ सालमै जिल्ला प्रहरी कार्यालय सप्तरीमा १९ जनाविरुद्ध जाहेरी दिएका थिए। पीडितहरूका अनुसार गिरोहले “थोरै समयमा पैसा डब्बल बनाइदिने” भन्दै लोभ देखाएर रकम उठाउने र पछि पैसा फिर्ता माग्न जाँदा धाकधम्की दिने, कुटपिट गर्ने तथा बन्धक बनाएर राख्ने जस्ता कार्य गर्दै आएको थियो।
पीडित महेश यादवले आफूहरू वर्षौंदेखि न्यायको खोजीमा भौतारिनुपरेको बताए।
उनले भने, “अहिलेसम्म न्याय पाएका छैनौं। सरकार फेरिए पनि हाम्रो पीडा उस्तै छ। न्यायका लागि अहिले पनि भौतारिनु परेको अवस्था छ।”
उनका अनुसार गिरोहको सञ्जाल मेचीदेखि महाकालीसम्म फैलिएको छ। विभिन्न व्यक्तिलाई छिट्टै धेरै नाफा हुने प्रलोभनमा पारेर रकम असुल्ने र पछि रकम माग्न जाँदा उल्टै डर, त्रास र आक्रमण सहनुपर्ने अवस्था रहेको उनले बताए।
यसैबीच जिल्ला प्रहरी कार्यालय सप्तरीले बिहीबार अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दाका पाँच जना फरार प्रतिवादी पक्राउ गरिएको जनाएको छ। पक्राउ परेकामध्ये मो. मुमताज मियाँ पनि उक्त प्रकरणका मुख्य पात्रमध्ये एक रहेको पिडितकाे भनाइ छ।
प्रहरीका अनुसार २०८२ माघ ४ गते साँझ करिब ७ बजे सिरहा लहान नगरपालिका–१० निवासी मो. सदाम र मो. ताहिर मियाँ जमिन खरिदको विषयमा सप्तरी खड्क नगरपालिका–५ खरचुहियास्थित मिना खातुनको घर पुगेका थिए। त्यसक्रममा मिना खातुनसहितको समूहले उनीहरूलाई अपहरण गरी शरीर बन्धक बनाएको, साथमा रहेको रकम लुटपाट गरेको तथा गोली हानी घाइते बनाएको आरोप छ।
घटनापछि फरार रहेका प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको संयुक्त प्रहरी टोलीले २०८३ वैशाख २३ र २४ गते पक्राउ गरेको हो। पक्राउ परेकामाथि सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा रुपनी गाउँपालिका–५ का ४३ वर्षीय हजरत मियाँ, राजगढ गाउँपालिका–६ का ४५ वर्षीय मंजिद मियाँ, खड्क नगरपालिका–५ खरचुहियाकी ४२ वर्षीया मिना खातुन, खड्क नगरपालिका–६ वीरपुरका ४८ वर्षीय मो. मुमताज मियाँ तथा सुरुङ्गा नगरपालिका–३ का ३५ वर्षीय उपेन्द्र मोचि रहेका छन्।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान जारी रहेको जनाएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button