पब्लिक प्रेस ।
सप्तरी, राजविराज । सप्तरीको राजविराज नगरपालिका स्थित पोलिटेक्निक सभा हल मा आइतबार नेशनल इन्जिनियर्स एसोसिएसन नेपाल (NEAN) सप्तरी जिल्ला समितिको आयोजनामा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा परिचयात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम इन्जिनियर अशोक कुमार मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिको रूपमा केन्द्रीय अध्यक्ष इन्जिनियर प्रमोद यादव रहनुभएको थियो। विशिष्ट अतिथिहरूमा मधेश प्रदेश उपाध्यक्ष तथा पुनर्गठन समितिका संयोजक इन्जिनियर सुशील देव र इन्जिनियर राधाकृष्ण साहको उपस्थिति रहेको थियो। साथै अभिषेक गुप्ता, प्रबिन यादव, बमशंकर यादव, उमेश यादव, आनन्द यादव लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा केन्द्रीय तथा प्रदेशस्तरका पदाधिकारीहरूबाट गम्छा ओढाएर सम्मान–प्रमाणपत्र अन्य पदाधिकारीहरूलाई प्रदान गरिएको थियो। सोही अवसरमा पत्रकार मानवअधिकारकर्मी नविन यादवलाई पनि सम्मान–प्रमाणपत्रद्वारा सम्मानित गरिएको आयोजकले जनाएको छ।

इन्जिनियरहरूको आवाज : एकता, अधिकार र व्यवस्थापनमा जोड
कार्यक्रममा बोल्ने अधिकांश इन्जिनियरहरूले पेशागत एकता, उचित पारिश्रमिक, प्राविधिक व्यवस्थापन तथा हक–अधिकारको विषयमा जोड दिएका थिए।
जिल्ला सचिव ई. प्रितेश यादवले वर्तमान अवस्थामा करिब ५० प्रतिशत इन्जिनियरहरू व्यवसायमा संलग्न भए पनि आपसी एकताको अभाव देखिएको उल्लेख गर्दै आगामी दिनमा यस विषयमा गम्भीर ध्यान दिनुपर्ने बताए। उनले नक्सा निर्माणमा स्पष्ट दररेट नहुँदा समस्या उत्पन्न भएको भन्दै यसबारे आवाज उठाउनुपर्ने धारणा राखे।
ई. पशुपति साहले स्थानीय तहका विकास निर्माण कार्यमा प्राविधिक व्यवस्थापन कमजोर रहेको औंल्याउँदै जेसिभी चालकले इन्जिनियरको भूमिका निर्वाह गर्ने अवस्था अन्त्य गर्नुपर्ने बताए। उनले प्रत्येक पालिकाको बजेटमा प्राविधिक जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
त्यसैगरी, ई. दीपक यादवले इन्जिनियरहरूलाई व्यवस्थित र पेशागत रूपमा सक्षम बनाउन सामूहिक प्रयास आवश्यक रहेको बताए। ई. अशोक यादवले इन्जिनियरहरूको हक–अधिकार संरक्षणका लागि संगठनले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए।
वरिष्ठ उपाध्यक्ष ई. भूपनारायण यादवले स्थानीय तहहरूले इन्जिनियरहरूबाट अतिरिक्त समयमा काम गराएर पनि उचित पारिश्रमिक नदिने तथा हाजिरीसमेत नराख्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे।
सिरहा जिल्ला सचिव अरबिन्द्र रामले संगठनभित्र पारिवारिक एकता कायम गर्न सके सबै समस्या समाधान सम्भव हुने धारणा व्यक्त गरे। मधेश प्रदेश उपाध्यक्ष इन्जिनियर सुशील देवले सप्तरीबाट १७० जना इन्जिनियरले सदस्यता लिएको जानकारी दिँदै सदस्यता लिनु मात्र पर्याप्त नभई हक–हितका लागि संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याए। उनले आफ्नो अनुभव सुनाउँदै संगठनलाई बलियो बनाउन निरन्तर सक्रियता आवश्यक रहेको बताए।
केन्द्रीय अध्यक्ष इन्जिनियर प्रमोद यादवले कार्यक्रममा बोल्दै सप्तरी जिल्लामा आएर आफ्ना धारणा राख्ने अवसर पाएकोमा आभार व्यक्त गरे। उनले यस कार्यक्रमले संगठन कानुनी प्रक्रियाअनुसार सञ्चालन भइरहेको अनुभूति गराएको उल्लेख गर्दै यस्तै संगठनबाट नेतृत्व विकास भई मन्त्रीदेखि सांसदसम्म बन्न सकिने सम्भावना रहेको बताए।
कार्यक्रमको अन्त्यमा अध्यक्ष इन्जिनियर अशोक कुमार मण्डलले समापन मन्तव्य व्यक्त गर्दै सहभागी सबैप्रति आभार प्रकट गरेका थिए।










