पब्लिक प्रेस ।
सप्तरी । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सप्तरी क्षेत्र नं. ३ बाट नेकपा (एमाले) का उम्मेदवार ताराकान्त चौधरीले मंगलबार औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ताका क्रममा हजारौँको संख्यामा आमजनता, पार्टी कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।
उम्मेदवारी दर्ता कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। विभिन्न स्थानबाट आएका नागरिकहरूले नाराजुलुस र शुभेच्छा व्यक्त गर्दै चौधरीप्रति आफ्नो समर्थन जनाएका थिए। यस क्षेत्रका जनताले लामो समयदेखि देखिएको राजनीतिक अन्योल, विकासको अवरोध र सुशासनको अभाव अन्त्य गर्ने आशाका साथ चौधरीलाई निकासको विकल्पका रूपमा हेर्न थालेका छन्।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उम्मेदवार चौधरीले आफ्नो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाबाट नभई जनताको चाहना र आग्रहबाट आएको स्पष्ट पारे। उनले भने, “यो उम्मेदवारी मेरो निर्णय मात्र होइन, सप्तरी क्षेत्र नं. ३ का जनताले मलाई दिनुभएको जिम्मेवारी हो। परिवर्तन, विकास र सुशासनको अपेक्षासहित जनताले मलाई अघि बढ्न प्रेरित गर्नुभएको छ।”
चौधरीले निर्वाचित भएमा क्षेत्रको भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै भ्रष्टाचार, नातावाद र पक्षपातको अन्त्य गर्दै जनमुखी शासन प्रणाली स्थापित गर्न आफू दृढ रहेको उनले बताए।
सप्तरी क्षेत्र नं. ३ मा यसपटक विभिन्न राजनीतिक दलका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। तर जनस्तरबाट बढ्दो समर्थन र सहभागिताले एमाले उम्मेदवार ताराकान्त चौधरीको उम्मेदवारीलाई थप मजबुत बनाएको विश्लेषकहरू बताउँछन्।









