आगलागीसमाज

खर्साल टोलको आगलागीमा नेपाली सेनाको द्रुत हस्तक्षेप, ठूलो क्षति हुनबाट जोगियो बस्ती

नविन यादव निर्भय ।

सप्तरी जिल्लाको राजविराज नगरपालिका–६ खर्साल टोलमा शनिवार राति करिब ११ बजे अचानक आगलागी हुँदा दुई जनाको गोठ तथा परालमा क्षति पुगेको छ। आगलागी लक्ष्मी यादवका ६६ वर्षीय छोरा जगदेव यादवको गोठबाट सुरु भई गोठघर र परालको कुन्यु जलेर करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।
त्यसैगरी सोही टोलका बोक्राह यादवका ६२ वर्षीय छोरा किसनदेव यादवको दुई वटा परालको कुन्यु जलेर अनुमानित ४० हजार रुपैयाँ बराबरको क्षति भएको छ। आगलागी भए पनि मानवीय तथा पशुचौपाया क्षति भने हुन नपाएको जनाइएको छ।
घटनाको सूचना पाउनासाथ नेपाली सेना श्री बरख गणबाट सेनानी रिचर्ड प्रजापतीको कमाण्डमा २० जनाको टोली नेपाली सेनाको दमकलसहित तत्काल घटनास्थलमा खटिएको थियो। सेनाको सक्रियता र स्थानीयवासीको सहयोगमा आगो राति १२ बजेर १५ मिनेटमा पूर्ण रूपमा नियन्त्रणमा लिन सफल भएको हो।


समयमै आगो नियन्त्रणमा लिँदा बस्तीमा फैलिन सक्ने ठूलो जोखिम टरेको भन्दै स्थानीयले नेपाली सेनाको द्रुत प्रतिक्रिया, अनुशासन र सेवाभावको खुलेर प्रशंसा गरेका छन्। विपद्को घडीमा नागरिकको जीवन र सम्पत्ति जोगाउन नेपाली सेनाले खेलेको भूमिका पुनः एकपटक उदाहरणीय रहेको स्थानीयवासीको भनाइ छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button