समाचार

कोसिया–४” भव्य रूपमा सम्पन्न

सांस्कृतिक गौरव र महान छठ पर्वप्रतिको सम्मान व्यक्त गर्ने उद्देश्यले आयोजित “कोसिया–४ : सांस्कृतिक अनुष्ठान” हनुमाननगरमा भव्य रूपमा सम्पन्न भएको छ।

आइ लभ मिथिला मिडियाद्वारा प्रस्तुत तथा कोसिया आयोजन समितिको संयोजनमा हनुमाननगर कंकालिनी नगरपालिका–९ स्थित ऐतिहासिक महासेठ पोखरी क्षेत्रमा कार्यक्रम सम्पन्न गरिएको थियो। पछिल्ला वर्षहरूमा सांस्कृतिक कार्यक्रमको नाममा देखिँदै आएको फूहडपनलाई चुनौती दिंदै कोसियाले यसपटक पनि मैथिली संस्कृति, छठ पर्वको आध्यात्मिकता र मौलिकतालाई उजागर गरेको आयोजक समितिले जनाएको छ।

कार्यक्रममा मैथिलीको पारम्परिक नृत्य–गीत, छठसँग सम्बन्धित सांस्कृतिक प्रस्तुति, गायन, कविता र नृत्यमार्फत मिथिला सभ्यताको आस्था तथा सामाजिक सन्देश प्रभावकारी रूपमा प्रस्तुत गरिएको थियो। “जडीसँग जोड्दै, परिवर्तन निर्माण गर्दै” भन्ने मूल नारासहित आयोजित चौथो संस्करणमा स्थानीय कलाकार, विद्यार्थी तथा युवाहरूको उल्लेखनीय सहभागिता थियो।

समारोहमा आमन्त्रित अतिथि, समाजसेवी, शिक्षाविद् र सञ्चारकर्मीलाई मिथिला परम्परा अनुरूप माला, पाग र सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा सम्बोधन गर्दै हनुमाननगर कंकालिनी नगर प्रमुख बीरेन्द्र माझीले मैथिली संस्कृति देशकै गौरव भएको उल्लेख गर्दै यसको संरक्षण तथा सम्वर्द्धनका लागि यस्ता कार्यक्रम निरन्तर आवश्यक हुने बताए।

दर्शकहरूले “कोसिया–४” लाई मिथिला क्षेत्रको सांस्कृतिक चेतनाको पुनर्जागरणको रूपमा लिएको प्रतिक्रिया दिएका छन्। आयोजन समितिले हनुमाननगरलाई सांस्कृतिक राजधानीका रूपमा स्थापित गर्ने लक्ष्यसहित कोसिया श्रृंखला आगामी दिनहरूमा पनि निरन्तर अघि बढाइने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा सहभागी विभिन्न विद्यालयका विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप पुरस्कार प्रदान गरिएको संयोजक सत्रुघन प्रसाद रायले जानकारी दिए। कार्यक्रम निर्देशक गजेन्द्र गजुरका अनुसार, कोसियाका सबै संस्करणहरूले बालबालिकाको कला, आत्मविश्वास र सांस्कृतिक बोध अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

छठ पूजा समिति, हनुमाननगर कंकालिनी–९ तथा हनुमाननगर कंकालिनी नगरपालिकाको सहयोग उल्लेखनीय रहेको आयोजकले जनाएको छ। त्यस्तै, सप्तरी एफएम, म्युजिक मैथिली, संचार सप्तरी, पब्लिक प्रेस, हनुमाननगर सन्देश र गामघर टिभी माध्यम साझेदारका रूपमा सक्रिय थिए।

आयोजक समितिले सबै सहयोगी, अतिथि तथा सहभागीहरू प्रति आभार व्यक्त गर्दै मिथिला संस्कृति र छठ पर्वको संरक्षणका यस्ता रचनात्मक प्रयास निरन्तर जारी रहने विश्वास व्यक्त गरेको छ।

मिथिला क्षेत्रका अन्य नगर तथा गाउँहरूले पनि यस्ता पहलबाट प्रेरणा लिनुपर्ने आवश्यकता आयोजकले बताए। सांस्कृतिक पर्यटन, स्थानीय अर्थतन्त्र र सामाजिक एकता मजबुत बनाउन यस्ता प्रयासहरू अत्यन्त महत्वपूर्ण मानिन्छन्।
—

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button