नविन निर्भय यादव ।
राजविराज।
महा आस्था, श्रद्धा र विश्वासको प्रतीकका रूपमा मनाइने महापर्व छठका अवसरमा सप्तरी जिल्लाभर नेपाली सेनाले शान्ति, स्वास्थ्य र सुरक्षा व्यवस्थापनमा उल्लेखनीय भूमिका निर्वाह गरेको छ । चारदिने यो पर्व कात्तिक ८ गते शनिबार नहाय–खायबाट प्रारम्भ भई मंगलबार उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै सम्पन्न भएको हो ।
पर्वको समयमा लाखौँ भक्तजन पोखरी, नदी र तलाउमा पूजा–अर्चनाका लागि सहभागी हुने भएकाले सम्भावित दुर्घटना र अवाञ्छित घटना न्यूनीकरण गर्न नेपाली सेनाले विशेष सतर्कता अपनाएको थियो । सप्तरीमा तैनाथ श्री बरखगणका उपसेनानी सन्तोष खड्काको कमाण्डमा ३० जना सैनिकको टोलीसहित जिल्लाभरका छठघाटहरूमा सुरक्षा व्यवस्था कडा बनाएका थिए ।
सेनाले राजविराजस्थित किल्टुदास पोखरी, भगवती मन्दिर पोखरी, लगायत जिल्लाका १८ वटै स्थानीय तहका छठघाटहरूमा निरन्तर गस्ती सञ्चालन गरी भक्तजनलाई सहज र सुरक्षित वातावरण प्रदान गरेको थियो । पर्वको अवधिभर सेनाले जिल्ला प्रशासन कार्यालय, र विपद् व्यवस्थापन समिति सँग समन्वय गर्दै सम्भावित जोखिम नियन्त्रणमा राख्न सक्रिय भूमिका खेलेको हो ।
भक्तजनहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सेनाले विभिन्न छठघाटहरूमा “हेल्थ डेक्स” स्थापना गरी आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराएको थियो । छठ पर्वमा लामो उपवास र पानीमा अर्घ दिने परम्पराका कारण बेहोस हुने, लड्ने वा अन्य स्वास्थ्य समस्या देखिने सम्भावनालाई मध्यनजर गर्दै चिकित्सकसहितको टोली तयारी अवस्थामा राखिएको थियो । साथै, आकस्मिक विपद् व्यवस्थापनका लागि सेनाले आवश्यक सामग्रीसहितका टोलीहरू परिचालन गरी सम्भावित दुर्घटनालाई रोकथाममा सहयोग गरेको थियो ।
सुरक्षा र स्वास्थ्यका साथै सेनाले पोखरी र घाट क्षेत्र वरिपरि बत्तीको व्यवस्था, चेतनामूलक ब्यानर टाँग्ने, बाँसको रेलिङ राख्ने र भीड नियन्त्रणका लागि स्वयंसेवी टोलीसँग सहकार्य गरी भक्तजनहरूको सुरक्षा सुनिश्चित गरेको थियो । सेनाको सक्रियताका कारण यस वर्ष सप्तरी जिल्लाभरका छठघाटहरूमा कुनै पनि प्रकारका दुर्घटना वा अवाञ्छित घटना नघटेको जिल्ला प्रशासनले जनाएको छ ।
महा छठ पर्वका अवसरमा नेपाली सेनाले धार्मिक आस्थाप्रति सम्मान जनाउँदै जनताको सुरक्षामा निरन्तर खटिनु, समाजमा शान्ति र सौहार्द कायम राख्न योगदान दिनु उल्लेखनीय कार्यका रूपमा लिइएको छ । स्थानीय श्रद्धालुहरूले सेनाको तत्परता र सेवाभावको प्रशंसा गर्दै भनेका छन् — “नेपाली सेनाको उपस्थिति र सक्रियताले यस वर्षको छठ पर्व सुरक्षित, व्यवस्थित र निःशङ्क भएर मनाउन सक्यौँ ।”
सेनाको उपस्थिति र तत्परताले भक्तजनहरूमा आत्मविश्वास र सुरक्षाको अनुभूति गराएको छ । धार्मिक, सांस्कृतिक र सामाजिक एकताको सन्देश फैलाउने यो पर्व सेनाको जिम्मेवार भूमिकाका कारण अझ सुव्यवस्थित, अनुशासित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो ।
















