सप्तरी । सूर्य उपासना र आस्थाको महान् पर्व छठ पूजाको अवसरमा सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–३, सकरपुरामा मेला तथा सांस्कृतिक कार्यक्रमको भव्य आयोजना गरिने भएको छ।
आयोजक समितिका अनुसार शनिबारदेखि कार्यक्रम औपचारिक रूपमा प्रारम्भ हुनेछ। छठ पर्वको धार्मिक भावना, संस्कृति र सामाजिक एकता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा स्थानीय युवाहरू, धार्मिक अगुवा तथा जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहनेछ।
कार्यक्रमको पहिलो दिन शनिबार मूर्तिपूजा तथा नाटक प्रदर्शनी गरिने छ। आयोजक समितिका संयोजक उग्रकान्त झाले नाटकमा स्थानीय युवा कलाकारहरूले नै अभिनय गर्ने जानकारी दिएका छन्। उनका अनुसार नाटकको विषयवस्तु धार्मिक आस्था, सामाजिक सन्देश र सांस्कृतिक विविधतामा आधारित हुनेछ।
आइतबार सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ, जसमा स्थानीय तथा अतिथी कलाकारहरूले गीत, संगीत र नृत्य प्रस्तुत गर्नेछन्। यसले गाउँमा उत्सवमय वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ। त्यसपछि सोमबार जागरण कार्यक्रम आयोजना हुनेछ, जसमा श्रद्धालुहरूले रातभरि सूर्यदेवको आराधना, भजन–कीर्तन र प्रार्थनामा समय व्यतित गर्नेछन्। अन्तिम दिन मंगलबार मूर्ति विसर्जनसँगै कार्यक्रमको औपचारिक समापन गरिनेछ।
आयोजक समितिका उपाध्यक्ष कुन्दन सिंहका अनुसार शनिबारदेखि सुरु हुने मेलाको उद्घाटन जनमत पार्टीका अध्यक्ष डा. सी.के. राउतले गर्ने कार्यक्रम तय गरिएको छ। उनले छठ पर्वले धार्मिक आस्था मात्र होइन, सामाजिक सद्भाव र सहअस्तित्वको सन्देश पनि दिन्छ भन्दै सबैलाई मेलामा उपस्थित हुन आग्रह गरेका छन्।
सकरपुरा क्षेत्रमा हुने यो मेला र सांस्कृतिक कार्यक्रमले स्थानीय पर्यटन, कला, र संस्कृतिको संरक्षणमा टेवा पुर्याउने आयोजकहरूको अपेक्षा छ। छठी पर्वका अवसरमा हुने सामूहिक पूजा, घाट सरसफाइ, तथा सांस्कृतिक कार्यक्रमले स्थानीय एकता र सहयोगको भावना झन् बलियो बनाउने विश्वास गरिएको छ।
आयोजक समितिले मेलामा सुरक्षा, सरसफाइ र भीड व्यवस्थापनका लागि स्थानीय युवा समूह र प्रहरी प्रशासनसँग सहकार्य गर्ने तयारी गरेको जनाएको छ। श्रद्धा, भक्ति र उत्साहका साथ मनाइने यस वर्षको छठ पर्व सकरपुरामा विशेष र ऐतिहासिक बन्ने अनुमान गरिएको छ।
"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।