समाचार

मिशन २०८४: सभ्यताको बाटोमा नमुना गाउँपालिका निर्माण

युवा नेता सत्येन्द्र यादव

 विष्णुपुर गाउँपालिका केवल एक प्रशासनिक सीमा होइन, यो जनचेतनाको केन्द्र, आत्मीयताको प्रतीक र सम्भावनाको खेत हो। यहाँको माटो, यहाँका बासिन्दा, यहाँको कथा—सबै हामी सबैको साझा गौरव हुन्। अब समय आएको छ यो गौरवलाई ‘मिशन २०८४’ को संकल्पमा बदल्ने।

संविधानले हामीलाई अभिव्यक्ति स्वतन्त्रता दिएको छ। तर त्यो स्वतन्त्रता निरंकुश होइन। आवाज उठाउने क्रममा गालीगलौज, चरित्रहत्या, सामाजिक विखण्डन—यी परिवर्तनको होइन, प्रतिशोधको औजार बन्छन्। यस्ता व्यवहारले मिशनलाई कमजोर बनाउँछन्, विकृति फैलाउँछन्। सभ्यता नै हाम्रो बल हो।

हामी विकास चाहन्छौं। सामाजिक न्याय, भ्रष्टाचारविहीन प्रशासन, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा सुधार–यी सबको आधार सभ्यता र सम्वाद हुन्। विवाद होइन, विवेक हो। झगडा होइन, सहकार्य हो। आलोचना होस्, तर तथ्यसहित। प्रतिरोध होस्, तर सम्मानयुक्त।

साझा संकल्प, साझा जिम्मेवारी
‘मिशन २०८४’ कुनै पार्टीको योजना होइन, जनताको अभियान हो। यसमा युवा जोश, वृद्धको अनुभव, महिलाको संवेदना, बालबालिकाको भविष्य सबै मिसिन्छ। समावेशिता, पारदर्शिता र सम्वादले मात्रै गाउँपालिका नमुना बन्छ।

क्रोध होइन, क्रान्ति होस्–सभ्यताको मूल्यमान्यता अनुसार
सत्तापक्षको समर्थन गर्नुहोस् वा प्रतिपक्षमा उभिनुहोस्–तर व्यवहार र भाषामा सभ्यता झल्कियोस्। समृद्धिको बाटो भाषिक शुद्धता, संवैधानिक आचरण र समुचित आलोचनाबाट सुरु हुन्छ। एक्लो आवाजले आक्रोश दिन सक्छ, साझा आवाजले समृद्धि दिन सक्छ।

मिशन २०८४ कुनै मितिमा सकिने योजना होइन, यो जीवनशैली हो—नमुना निर्माणको संकल्प। “विकासको संघर्ष होस् विवेकको साथमा, र प्रतिरोधको आवाज होस् सभ्यताको भाषामा।”

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button