समाचार

भ्रामक समाचारविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने नेपाल पत्रकार महासंघ सप्तरीको घोषणा

पब्लिक प्रेस ।
राजविराज,
नेपाल पत्रकार महासंघ, शाखा सप्तरीले मधेस प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साहसँग जोडेर शिर्ष खबर डट्कममा प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाउँदै उक्त भ्रामक समाचारविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने घोषणा गरेको छ।

महासंघका सह–सचिव डम्बर राईद्वारा बुधबार जारी गरिएको प्रेस विज्ञप्तिमा समाचारलाई सुनियोजित ढंगले तथ्यहीन र एकतर्फी रूपमा महासंघ तथा पदाधिकारीलाई बदनाम गर्ने प्रयास भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “नेपाल पत्रकार महासंघ, शाखा सप्तरीले तत्कालीन मधेश प्रदेश सरकारको सहयोगमा २०८० सालमै पत्रकार अतिथि गृह निर्माण सम्पन्न गरेको सर्वविदितै छ।”

शिर्ष खबर डट्कमले भवन निर्माणको क्रममा पूर्व मन्त्री साहलाई कमिसन दिएको भन्ने दाबीप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। “समाचारमा जस्तो कसैलाई कुनै किसिमको कमिसन नदिइएको प्रष्ट पार्न चाहन्छौं,” विज्ञप्तिमा भनिएको छ।

महासंघका अनुसार पूर्व मन्त्री साह र पूर्व अध्यक्ष शम्भु झाको पहलमा अतिथि गृह निर्माणका लागि पहिलो चरणमा रु. २५ लाख र दोश्रो चरणमा रु. ६० लाख विनियोजन गरिएको थियो। तीन तल्ला भवनमा आठ कोठा—जसमा चार डिलक्स कोठा एट्याच बाथरुमसहित छन्—सहित भुइँतल्लामा पार्किङ र क्यान्टिन पनि निर्माण गरिएको जनाइएको छ।

महासंघले समाचारमा प्रयोग गरिएको फोटो पनि आधिकारिक नभएको जानकारी गराउँदै पत्रकारिताको आचारसंहिताको पालन गर्दै तथ्यहीन समाचार नप्रकाशन गर्न अनुरोध गरेको छ। “बिना कारण नेपाल पत्रकार महासंघ र पदाधिकारीलाई बदनाम गराउने कुकृत्यप्रति हामी घोर भत्सर्ना गर्दछौं,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button