समाचार

फलोअप: तिलाठी कोईलाडीका वडाध्यक्षविरुद्ध अख्तियारको छानबिन सुरु

नविन निर्भय यादव

सप्तरी — तिलाठी कोईलाडी गाउँपालिका–७ का वडाध्यक्ष हरिनारायण मण्डलविरुद्ध सरकारी सम्पत्ति हिनामिना प्रकरणमा दर्ता भएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ईटहरीले प्रारम्भिक छानबिनलाई तीव्र बनाएको छ। आयोगले वडा कार्यालय परिसरभित्र रहेका आप जातका ४ र सभेदी जातका ६ वटा वृक्ष तथा ४ थान पुराना काठका दराजहरू बिना कुनै कानुनी प्रक्रिया बिक्री गरिएको विषयमा प्रमाण संकलन सुरु गरिसकेको छ।

अख्तियार स्रोतका अनुसार, उजुरी दर्ता नम्बर 074608 मा २८ गते दर्ता भई आयोगको प्रणालीमा प्रविष्ट भइसकेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा वडा कार्यालयबाट कागजात माग गरिएको र स्थानीय प्रत्यक्षदर्शीहरूसँग बयान लिने प्रक्रिया सुरु गरिएको जनाइएको छ।

स्थानीय बासिन्दाहरूले भने वडाध्यक्ष मण्डलमाथि पहिले पनि सार्वजनिक स्रोतको मनपरी प्रयोग गरेको आरोप लगाउँदै आएका थिए। “हामीले पटक–पटक माग गर्दा पनि कुनै सूचना सार्वजनिक गरिँदैन,” एक स्थानीय नागरिकले भने, “अब अख्तियारले निष्पक्ष छानबिन गरोस् भन्ने हाम्रो अपेक्षा हो।”

यसैबीच, गाउँपालिकाका अन्य वडाध्यक्षहरू र कर्मचारीहरू पनि यो प्रकरणले चिन्तित र सतर्क बनेका छन्। अख्तियारले पछिल्ला वर्षहरूमा स्थानीय तहमा बढ्दो भ्रष्टाचारप्रति निगरानी बढाएको छ। आयोगको प्रतिवेदनअनुसार, ५० प्रतिशतभन्दा बढी उजुरीहरू स्थानीय तहसँग सम्बन्धित हुने गरेका छन्।

अख्तियारका एक अधिकारीले भने, “हामी प्रमाणको आधारमा निष्पक्ष छानबिन गर्छौं। यदि दोष प्रमाणित भएमा कानुनअनुसार कारबाही हुन्छ।” आयोगले यस प्रकरणलाई नजीरको रूपमा लिने तयारी गरिरहेको स्रोतले जनाएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button