पब्लिक प्रेस संवाददाता
कञ्चनरुप मंसिर १ गते ।
सप्तरीकाे कञ्चनरूप नगरपालिकामा गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेश जनकपुरधामले सुरक्षा र विपद् सम्बन्धी सचेतना र अन्तरक्रिया कार्यक्रम गरेकाे छ । शनिबार कञ्चनपुर ८ स्थित मिथिला हाेटल एण्ड पार्टी प्यालेसमा आयोजित कार्यक्रममा सप्तरीका माध्यमिक बिधालय र केही क्याम्पसका बिधार्थीहरूलाई सुरक्षा र विपद् सम्बन्धी सचेतना गराइएकाे थियाे ।
कार्यक्रमकाे तालिका अनुसार, प्रस्तुतीकरण, चार्टबाेर्ड, भिडियाेद्वारा विभिन्न बिज्ञहरूले सुल्झाएका थिए । लागु औषधका प्रकार, जाेखिम र यसबाट बच्ने उपायहरू र साइवर क्राइमबारेमा जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडाले प्रस्तुतिकरण गरेका थिए ।
यस्तै युवा सञ्चार र सामाजिक सञ्जालबारेमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्ण, विपद् समस्या र चुनाैतीबारे डा. सुरेश चाैधरी, कला, सस्कृति र दाइजाे प्रथा सम्बन्धी प्रदेश नीति तथा योजना आयोगका सदस्य माननीय डा.शिला मिश्रा, साइवर क्राइम तथा महिलाहिंसा सम्बन्धी मधेश प्रदेश सरकार आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले प्रस्तुतिकरण र भिडियोको माध्यमबाट सहजीकरण गरेका थिए । विभिन्न विपद्बाट बच्ने उपायबारे नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रष्तुती र प्रयोग विधीद्वारा सहजिकरण गरेका थिए। संदिप शर्माले लागु औषध दुर्ब्यसन छाडेपछिको अनुभव सुनाए । मधेश प्रदेश ट्राफिक कार्यालय बारा पतलैयाका एसपी, महोत्तरी बर्दिवासका सशस्त्र प्रहरी बलका एसएसपीले कार्यक्रमको विषयवस्तु माथि प्रकाश पारेका थिए ।
कार्यक्रमका अध्यक्षताको आसनबाट मधेश प्रदेश सरकारका गृह, संचार तथा कानुन मन्त्री राज कुमार लेखीले अहिलेका अधिकांश युवाहरु लागु औषध दुर्ब्यसनमा फसेको बताए । यसमा स्कूल, क्याम्पसका विद्यार्थीहरु अधिकांश रहेको हुँदा यिनीहरूको भविष्य बर्वाद नहोस भनेर हामी अभिभावकहरुले समयमै सचेत गराउनु पर्छ मन्त्री लेखीले सुझाव दिए ।
उनले स्थानीय सरकारलाई पनि सुझाव दिँदै भने युवाहरुमा सचेतना गराउन यस्ता कार्यक्रमहरु गाउँ गाउँमा गर्नुहोस, विद्यालय, क्याम्पस र शैक्षिक संघ, संस्थाहरूमा गर्नुहोस । विपद् तथा जोखिम दिन दिनै बढी रहेका छन् जसबाट विभिन्न खाले घटना भइरहेका छन् तर यसको नियन्त्रणमा हाम्रो ध्यान पुगिरहेको छैन मन्त्री लेखीले भने घटना बढेर जानुका कारण पता लगाउनु जरुरी छ साथै यसबाट बच्ने उपाय र विधिको ज्ञान हुनु जरुरी छ । कार्यक्रम अघिको सरकारले गर्ने गरेको भएपनि गाउँ टोलमुखि नभएको उनले बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव उद्धव प्रसद रिजाल, सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाल,सप्तकोशी नगरपालिकाको नगरप्रमुख कृष्ण प्रसाद ढकाल,राजविराज तालिम केन्द्रका एसएसपी गोपाल भट्टराई, सशस्त्र बलका एस एसपी डीगबिजय सुवेदी बर्दिवास सशस्त्र बलका एस एसपी सूर्य बहादुर सेन ओली, मिडिया काउन्सिलको कावा अध्यक्ष कैलाश दास लगायत सुरक्षा बलका कर्मचारी सहभागी थिए ।
यस जिल्ला स्तरीय कार्यक्रममा सामुदायिक, निजी विद्यालय गरेर ७ सयको हाराहारीमा छात्र छात्राहरु, शिक्षक, शिक्षिका, राजनैतिक दलका नेता तथा कार्यकर्ता, सञ्चारकर्मी, अधिकारकर्मी, सुरक्षाकर्मी लगायत सहभागी रहेको युवा नेता सरोज मगरले जानकारी गराए । सो कार्यक्रममा राष्ट्रिय युवासंघका नेता केवल खत्री, मनु पासवान, उज्ज्वल लगायतको महत्वपूर्ण भूमिका रहेको कार्यक्रम स्रोतले जनाएको छ ।
कार्यक्रममा विभिन्न विद्यालयका छात्र छात्राहरुको संस्कृति झल्कने गीतमा नृत्य प्रस्तुत गरेका थिए । नेवारी, थारु, भोजपुरी, मैथिली लगायत जातीय संस्कृति पहिरनमा भाषिक गीत संगितमा नृत्य गरेका थिए ।










