पब्लिक प्रेस ।
जिल्ला अदालत सप्तरीले सञ्चारकर्मी कैलाश माझीमाथि लागेको मुद्दामा सफाइ दिएको छ ।
यस अघि जिल्ला प्रसासन कार्यालय सप्तरीले सञ्चारकर्मी माझीलाई अभद्र व्यवहारको कसुरमा दोषी ठहर गर्दै जरिवाना गरेको थियो । सप्तरीको सप्तकोशी नगरपालिका स्थित भगनीका दुर्गा खड्गाले अश्लिल गाली गलौज तथा हातपात गरी अभद्र व्यवहारको कसुर गरेको भन्दै उजुरी दिएपछि माझीलाई कसुर ठहर गरि १५०० रुपैया जरिवाना गरिएको थियो ।
यस्तै माझीलाई ईलाका प्रहरी कार्यालय कञ्चनपुरले ४ दिन हिरासतमा समेत राखेको थियो । सो पश्चात माझिले जिल्ला प्रशासन कार्यालयको निर्णय चित्त नबुझेको भन्दै जिल्ला अदालत राजविराजमा पुनरावेदन गरेका थिए । माझीको पुनरावेदनमाथि सुनुवाई गर्दै जिल्ला अदालतले जिल्ला प्रशासन कार्यालय सप्तरीको निर्णय उल्ट्याएर माझीलाई क्लिन चिट दिएको हो ।
२०७९ जेठ १३ गते पूर्वखेलकुद मन्त्री समेत रहनुभएका तत्कालिन सप्तरी निर्वाचन क्षेत्र नं १ (१) बाट निर्वाचित सांसद सत्यनारायण मण्डलको संसदीय कोषबाट प्राप्त अनुदान रकम दुरुपयोग भइरहेको भन्दै गंगाजली खोला नियन्त्रणको काम गरिरहेको अवस्थामा माझी स्थलगत रिपोर्टिङका लागि पुगेका थिए । सोही क्रममा विकास निर्माणको कार्यमा बाधा अवरोध पुर्याएर गाली गलौज गरी अभद्र व्यवहारको कसुर गरेको भन्दै सञ्चारकर्मी माझीमाथि दुर्गा खडगाले जाहेरी दिएका थिए ।
पूर्व मन्त्री मण्डलको संसदीय बिकास कोषको रकम दुरुपयोग गरेको खबर सार्वजनिक हुने डरले आफूमाथि गलत आरोप लगाएर चौतर्फी घेराबन्दी गर्न खोजेको सञ्चारकर्मी माझीको भनाई छ । माझी भन्छन, “संसदीय कोषको चरम दुरुपयोग गरेर भ्रष्टाचार गर्न पल्किएकाहरुले मलाई गलत आरोप लगाएर ४ दिन सम्म प्रहरी हिरासतमा राखे, निर्दोष पत्रकारमाथि जिल्लाबाट जबरजस्ती कार्वाही गराईयो । तर म अब चुप लागेर बस्दिन । अब मेरो कलम र क्यामेरा अझ सशक्त रुपमा वेथिती र अनियमितता विरुद्ध केन्द्रीत हुनेछ।”
माझीले आफूमाथि झुटो गवाही दिनेहरुमाथि अचम्मित भएको बताएका छन । “जसका लागि म लडे उनै साथिहरुले म माथि छुरा प्रहार गरेका छन म माथी निराधार आरोप लगाउने ती गवाहि साथीहरु सबैलाई मेरो निष्पक्ष पत्रकारीताबारे थाहाहुँदै म बिरुद्ध झुटो गवाही दिएका छन। आगामी दिनमा पद र लोभको भन्दा सत्यको पक्षमा लाग्न म उनीहरु सबैलाई आग्रह गर्दृछु । जिल्ला अदालत सप्तरीले सफाइदिएसँगै सञ्चारकर्मी माझी अब बेकसुर ठहर भएका छन ।
माझीले फैसलापश्चात बोल्दै पत्रकारीताको धर्म निर्वाह गर्ने कर्ममा निश्पक्ष रुपमा लाग्दा अनावश्यक दुख दिने काम भएपनि अदालतको फैसलाले न्याय नमरेको बताएका छन। आगामी दिनमा अझ सशक्त रुपमा वेथिती र अनियमितता विरुद्ध बोल्ने भन्दै पत्रकार माझीले मुद्दा मामिलाबाट कलम नरोकिने प्रतिक्रिया दिएका छन ।
"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।