पब्लिक प्रेस ।
नविन यादव ।निर्भय
राजविराज । सत्य, अहिंसा, शुद्धता र प्रकृतिप्रतिको आस्थाको प्रतीक मानिने छठ पर्व शुक्रबारदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ। चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइने यो पर्व तराई–मधेशका साथै देशका विभिन्न भागमा श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ।
विशेषगरी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा र पर्सालगायत जिल्लामा छठ पर्वको विशेष रौनक देखिएको छ। सूर्यदेव र छठी माताको आराधना गरिने यस पर्वमा व्रतालुहरूले परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा सन्तानको दीर्घायुको कामना गर्दै कठोर व्रत बस्ने परम्परा छ।
मानवमा सत्य र अहिंसाप्रतिको भावना अभिवृद्धि गर्नुका साथै सम्पूर्ण जीवप्रति सहानुभूति र प्रकृतिप्रति सम्मान गर्न प्रेरित गर्नु यस पर्वको विशेषता मानिन्छ।
छठ पर्वको पहिलो दिन शुक्रबारलाई ‘नहाय–खाय’ भनिन्छ। यस दिन व्रतालुहरूले स्नान गरी शरीर तथा घरआँगन शुद्ध पार्दै सात्त्विक भोजन ग्रहण गर्छन्। दोस्रो दिन शनिबार ‘खरना’ मनाइन्छ। यस दिन व्रतालुहरू दिनभरि निराहार उपवास बसेर साँझ छठी माताको पूजा गरेपछि प्रसाद ग्रहण गर्छन्। त्यसपछि सुरु हुने निर्जला व्रतमा व्रतालुहरूले छठ पर्व सम्पन्न नभएसम्म अन्नपानी त्याग्ने परम्परा छ।
पर्वको तेस्रो दिन अर्थात् आइतबार षष्ठी तिथिमा मुख्य पूजा गरिन्छ। यस दिन व्रतालु तथा परिवारका सदस्यहरूले गहुँ र चामललाई ओखल, जाँतो वा ढिकीमा कुटेर तयार पारिएको पिठोबाट ठकुवा, भुसवा, खजुरिया, पेरुकियालगायत परिकार बनाउँछन्।
त्यस्तै, विभिन्न फलफूल, मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिर, नरिवल, सुन्तला र केरालगायत पूजासामग्री नाङ्लो, कोनिया, सुप, सरवा, ढाकन तथा बाँसबाट बनेका ढाक्कीमा सजाएर राखिन्छ। परिवारका सदस्यहरू भक्ति तथा लोकगीत गाउँदै पूजासामग्रीसहित नजिकैको जलाशय र छठ घाटमा पुग्छन्।
षष्ठीको साँझ व्रतालुहरू जलाशयमा प्रवेश गरी अस्ताउँदो सूर्यलाई सन्ध्याकालीन अर्घ्य अर्पण गर्छन्। यस क्रममा दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल तथा विभिन्न पूजासामग्रीसहित श्रद्धापूर्वक सूर्यदेवको आराधना गरिन्छ।
पर्वको अन्तिम दिन सोमबार बिहानै व्रतालुहरू पुनः छठ घाटमा पुगेर उदाउँदो सूर्यलाई प्रातःकालीन अर्घ्य अर्पण गर्छन्। यससँगै चार दिनसम्म चल्ने छठ पर्व विधिपूर्वक सम्पन्न हुन्छ।
प्रकृति, जल, सूर्य र जीवनप्रतिको सम्मान झल्काउने छठ पर्वले धार्मिक आस्था, पारिवारिक एकता, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानलाई समेत बलियो बनाउँदै आएको छ।










