शोषणविहीन समाज निर्माणको सपना बोकेर सशस्त्र जनयुद्धमा होमिएका शहीद कमरेड रामवृक्ष यादवको ३१औं स्मृति दिवसको अवसरमा सप्तरीमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन्।
राजविराज नगरपालिका–६ स्थित दशन चोकमा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरिएको थियो भने हनुमाननगर कंकालिनी नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो।
राजविराजको दीप प्रज्ज्वलन कार्यक्रम र हनुमाननगर कंकालिनी नगरपालिकाकाे अन्तरक्रिया कार्यक्रम नेकपा (माओवादी) का केन्द्रीय सदस्य सुर्यनाथ यादव उर्फ सुभाष यादव र अमर मण्डलको नेतृत्वमा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागीहरूले शहीद यादवको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यसपछि दीप प्रज्ज्वलन गरेर उनको योगदानलाई स्मरण गरिएको थियो।
शहीद कमरेड रामवृक्ष यादवको २०५१ साल भदौ २ गते जनयुद्धको तयारीकै क्रममा धनुषा जिल्लाको बरमझियामा हत्या गरिएको थियो। जनपक्षीय आन्दोलनमा जनसमर्थन बटुल्दै गएका यादवलाई नेपाली कांग्रेसका स्थानीय नेताहरू, तत्कालीन राज्य संयन्त्र र भाडामा परिचालित हत्याराहरूको मिलोमतोमा योजनाबद्ध रूपमा हत्या गरिएको नेकपा (माओवादी)को आरोप छ।
यादव परिवारले जनयुद्धमा अपार बलिदान ब्यहोर्नुपरेको थियो। उनका छोरा शेखर यादव र ज्वाईं समेत जनयुद्धको क्रममा सहादत प्राप्त गरेका थिए। त्यस्तै, कमरेड यादवकी जीवनसाथी रामकुमारी यादवको संविधानसभा सदस्य रहेका बेला ग्यास सिलिन्डर विस्फोटमा मृत्यु भएको थियो।
कार्यक्रममा वक्ताहरूले रामवृक्ष यादवको परिवारले देश र जनताको हितमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै उनको बलिदानबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्नेमा जोड दिए।
त्यसैगरी हनुमाननगर कंकालिनी नगरपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, स्थानीय समाजसेवी, बुद्धिजीवी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले भने, “देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भए पनि गरिब, श्रमिक र किसानको सत्ता स्थापना गर्ने शहीदहरूको मूल सपना अझै अधुरो छ।”
उनीहरूले जनयुद्धका सहिदहरूको बलिदानलाई मूल्यांकन गर्दै सामाजिक रूपान्तरणको अभियानलाई अझ सशक्त रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रमहरू शान्तिपूर्ण, अनुशासित र भावनात्मक रूपमा सम्पन्न भएका थिए। अन्त्यमा सहभागीहरूले शहीद कमरेड रामवृक्ष यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै हार्दिक नमन गरेका थिए।
"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।