पब्लिक प्रेस
सप्तरी । तिलाठी–कोइलाडी गाउँपालिकाका वडा नं. ६, ७ र ८ लाई पूर्वआवश्यक कार्यहरू पूरा नगरी बालविवाह-मुक्त वडा घोषणा गरिएकोप्रति स्थानीयस्तरमा गम्भीर असन्तुष्टि व्यक्त गरिएको छ।
स्थानीय बालअधिकार कर्मी तथा युवा अभियन्ता त्रिवेणी कुमार यादवले उक्त घोषणाप्रति प्रश्न उठाउँदै, समुदायलाई जानकारी नदिई, कुनै पूर्वतयारी तथा आवश्यक सूचक पूरा नगरी, केवल एउटा गैर सरकारी संस्थाको निजी कार्यक्रम सम्पन्नताको उद्देश्यले १५-२० जनाको सीमित उपस्थितिमा कार्यक्रम आयोजना गरिएको आरोप लगाएका छन्।
उनका अनुसार बालविवाह-मुक्त वडा घोषणा गर्नुअघि समुदायस्तरमा व्यापक सचेतना, तथ्यांक संकलन, वडा बालअधिकार समिति, बालक्लब, युवा समूह, अन्य संघ–संस्था, विद्यालय, अभिभावक तथा सरोकारवालाबीच समन्वय अनिवार्य हुन्छ। तर उक्त वडाहरूमा यस्ता कुनै पनि प्रक्रिया नअपनाई, सामाजिक सञ्जालमा फोटो र पोस्ट गर्ने औपचारिकतामै सीमित घोषणा गरिएको उनले बताए।
त्रिवेणी कुमार यादवले ती वडाहरूमा पहिले पनि पटक–पटक बालविवाहका घटनाहरू घट्दै आएको उल्लेख गर्दै, यस्ता अवस्थाबीच बिना तयारी गरिएको घोषणाले भविष्यमा यदि पुनः बालविवाहका घटना भए त्यसको नैतिक तथा सामाजिक जिम्मेवारी कसले लिने ? भन्ने प्रश्न उठाएका छन्।
उनले बालविवाह अन्त्य केवल घोषणा गरेर सम्भव नहुने भन्दै, बालबालिकाको शिक्षा, सुरक्षा, सचेतना, जन्म तथा विवाह दर्ता, उजुरी संयन्त्र र निगरानी प्रणाली मजबुत बनाउनु पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिएका छन्।
“बालविवाह-मुक्त घोषणा नामको कार्यक्रम होइन, यो दीर्घकालीन सामाजिक परिवर्तनको प्रक्रिया हो,” उनले भने, “पूर्वाधार, तयारी र समुदायको स्वामित्व बिना गरिएको घोषणा कागजी मात्र हुन्छ, जसले वास्तविक समस्या समाधान गर्दैन।”
स्थानीयस्तरमा सरोकारवालाहरूले समेत बालविवाह जस्तो संवेदनशील विषयमा नियम, कार्यविधि र स्थानीय सहभागिता बेवास्ता गरेर गरिएको कार्यक्रमले नकारात्मक सन्देश जाने भन्दै गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्।
0 1 minute read










