सप्तरी, साउन १७ –
प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले सप्तरी जिल्लामा लागुऔषध ब्राउन हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा छिन्नमस्ता गाउँपालिका–१, बिरपुरका २८ वर्षीय विशाल राय र डाक्नेश्वरी नगरपालिका–१ का ३० वर्षीय मनोज राय रहेका छन्।
लागुऔषध ओसारपसारमा संलग्न रहेको गोप्य सूचनाका आधारमा विशेष निगरानी पछि बिहीबार उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउको क्रममा फरार हुन खोजेपछि नियन्त्रण गर्न प्रहरीले दुई राउन्ड हवाई फायर समेत गर्नुपरेको थियो।
प्रहरीले उनीहरूबाट झण्डै २ सय ग्राम ब्राउन हेरोइन बरामद गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विशेष सुराकीका आधारमा सन्चालन गरेको उक्त अपरेशन सफल भएको जनाइएको छ।
सप्तरी प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्र कुमार बस्नेतका अनुसार दुबै पक्राउ परेकालाई लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सप्तरी क्षेत्रलाई लागुऔषध ओसारपसारको गोप्य मार्गको रुपमा प्रयोग गर्ने क्रम बढिरहेको अवस्थामा प्रहरीले लिएको यो कारवाहीलाई महत्वपूर्ण सफलता मानिएको छ।
"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।