पब्लिक प्रेस
राजविराज । पैसा दोब्बर बनाइदिने प्रलोभन देखाउँदै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा पक्राउ परेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ बभनगामाका रामबहादुर रजक ‘हनुमानी’विरुद्ध प्रमाणसहित उजुरी दिन जिल्ला प्रहरी कार्यालय सप्तरीले सर्वसाधारणसँग आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै रजकबाट पीडित भएका अन्य व्यक्तिहरू भए प्रमाणसहित कार्यालयमा उपस्थित भई जाहेरी दरखास्त दिन अनुरोध गरेको हो।
प्रहरीका अनुसार ५२ वर्षीय रजकसमेतको समूहले रकम दोब्बर बनाइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट रकम ठगी गरी सम्पर्कविहीन भएको भनी जाहेरी दरखास्त प्राप्त भएको थियो। सोही आधारमा रजकलाई ठगी तथा आपराधिक विश्वासघात मुद्दामा २०८३ कात्तिक १७ गते कानुनबमोजिम पक्राउ गरिएको थियो।
पक्राउपछि उनलाई सम्मानित सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले यस घटनामा रजकबाट पीडित भएका अन्य व्यक्तिहरू पनि हुन सक्ने भएकाले आफू ठगीमा परेको भए आवश्यक प्रमाणसहित जिल्ला प्रहरी कार्यालय सप्तरीमा उपस्थित भई उजुरी दिन आग्रह गरेको छ।
साथै, प्रहरीले यस्ता किसिमका कुरामा विश्वास नगर्न, अन्धविश्वास तथा प्रलोभनमा नपर्न र सर्वसाधारणलाई सचेत रहनसमेत अनुरोध गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेद्वारा जारी विज्ञप्तिमा उक्त आग्रह गरिएको हो।










