समाज

धन्कोल टोलकाे योजनाबद्ध सामूहिक घटनामा प्रहरी सक्रिय, अनुसन्धान जारी

पब्लिक प्रेस, सप्तरी ।

सप्तरी जिल्लाको तिलाठी–कोइलाडी गाउँपालिका–८ सडेपार (धन्कोल टोल) मा बुधबार बिहान भएको योजनाबद्ध सामूहिक आक्रमणमा सातजना गम्भीर घाइते भएका छन्। मंगलबार राति सवारी दुर्घटनाबाट सुरु भएको विवाद बुधबार बिहान योजनाबद्ध आक्रमणमा परिणत भएको स्थानीयहरूले बताएका छन्।

घटनामा शिवनारायण यादव, जयप्रकाश यादव, विजयकुमार देव, भोला यादव, सब्झा यादव, सनम देव र अरुणकुमार देव गम्भीर घाइते भएका छन्। पीडित पक्षका अनुसार, गाउँकै शिक्षक रामप्रसाद यादव (राम) को नेतृत्वमा करिब २५ जनाको समूहले लाठी, बञ्चरो, खुकुरीजस्ता धारिला घरेलु हतियार प्रयोग गरी हमला गरेको निवेदन जिल्ला प्रहरी कार्यालय सप्तरीमा दर्ता गरिएको छ।

पीडितहरूले बताएका छन् कि मंगलबार राति दिपेन्द्र यादवको स्कर्पियो र राजेश यादवको मोटरसाइकल ठोक्किँदा सामान्य विवाद सुरु भएको थियो। तर सो विवादलाई स्थानीय निराजन यादव, झबर यादव, नविन यादव, राजेश यादव, रोशन देव, पिन्टु यादव, पंकज यादव, मनु देव, बलिन्द्र यादव र भागवत यादवलगायतले झन् उग्र रूपमा विस्तार गरेको आरोप लगाइएको छ।

बुधबार बिहान करिब १०:३० बजे सो समूहले योजनाबद्ध रूपमा पुनः आक्रमण गरी लाठी, बञ्चरो र खुकुरी प्रयोग गरेर कुटपिट गरेको उजुरीमा उल्लेख छ।

घटनामा विजयकुमार देवलाई कानको छेउ र टाउकोमा धारिलो हतियार प्रहार हुँदा चार वटा टाँका लगाइएको छ। अरुणकुमार देवलाई शरीरका विभिन्न भागमा गहिरा चोट लागेर छ वटा टाँका लगाउनुपरेको छ भने उनको शरीरभरि निलडाम देखिएको छ। त्यस्तै सनम देवको शरीरभरि निलडाम, शिवनारायण यादवको  हातका दुई वाेटा हड्डी भाँचिएका छन् र उनी हाल विराटनगरस्थित नोबल अस्पतालमा उपचाररत छन्।

त्यस्तै भोला यादवलाई तीन वटा टाँका लागेको छ भने उनका परिवारका सदस्य—बुहारी र छोरालाई पनि सामान्य चोटपटक लागेको जनाइएको छ।

आक्रमण गर्ने पक्षका रामप्रसाद यादव पनि सामान्य रूपमा घाइते भएका छन्।

पीडित पक्षका तर्फबाट घाइते अरुणकुमार देवले प्रहरीमा दर्ता गरेको निवेदनमा लेखिएको छ —

“विपक्षीहरूले पुरानो रिसइबीका कारण योजनाबद्ध रूपमा हतियार लिएर आक्रमण गरे। कुटपिटपछि फरार भएका ती सबैलाई खोजी गरी कानुनी कारबाही गरिनुपर्छ।”

जिल्ला प्रहरी कार्यालय सप्तरीमा दर्ता गरिएको उजुरीमा रामप्रसाद यादवसहित १५ जनाको नाम उल्लेख गरिएको छ। ती व्यक्तिहरूलाई “तानासाही र उदण्ड प्रवृत्तिका” रहेको आरोप लगाइएको छ।

स्थानीयहरूले प्रहरी प्रशासनमाथि आक्रोश व्यक्त गर्दै भनेका छन् —

“यस्ता अपराधीहरूले कहिले माईक्रोबस लुट्छन्, कहिले डकैती गर्छन्, कहिले सर्वसाधारणमाथि अत्याचार गर्छन्। तर प्रहरी मौन बस्छ, राजनीतिक दबाबमा घटना मिलाइन्छ।”

घाइतेहरू अहिले विभिन्न अस्पतालहरूमा उपचाररत छन्। पीडित पक्षले निष्पक्ष छानबिन, दोषीहरूको तत्काल पक्राउ र कानुनी कारबाहीको माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डिएसपी डम्बर बहादुर पुरीका अनुसार,

“तिलाठी–कोइलाडी गाउँपालिका–८ सडेपारस्थित धन्कोल टोलमा सामान्य विवादबाट सुरु भएको घटना नरसंहारमा परिणत भएको घटनमा दुवै पक्ष गरी करिब दर्जन व्यक्ति घाइते भएका छन्। दर्ता भएको निवेदनका आधारमा सत्य–तथ्य पत्ता लगाउने कार्य जारी छ, अनुसन्धान अघि बढाइएको छ।”

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button