समाचार

मधेसमा ‘छोटे सरकार’को मनपरी : शिक्षकको तलब चाडपर्वमै रोकियो

सप्तरी

चाडपर्व नजिकिँदै गर्दा मधेसका शिक्षक र कर्मचारीहरू तलब नपाएर तनावमा परेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनका अनुसार मधेसका विभिन्न पालिकाबाट शिक्षक तथा कर्मचारीहरूले तलब नपाएको भन्दै अत्याधिक गुनासो गरेका छन्।

उनका अनुसार दशैं, तिहार र छठजस्ता ठूला पर्व आउँदै गर्दा पालिकाहरूले ढिलासुस्ती र बहाना देखाउँदै तलब रोकिराखेको गुनासो आएका छन्। “तलब पाइएन भनेर सबैभन्दा धेरै फोन मधेसबाट आएको छ,” मन्त्री पुनले सामाजिक सञ्जालमार्फत जनाएका छन्।

उनले स्पष्ट पारे अनुसार शिक्षा मन्त्रालयले सबै पालिकाहरूलाई आवश्यक रकम पठाइसकेको छ। तर, स्थानीय तहहरूले ढिलाइ गर्दै शिक्षक तथा कर्मचारीको तलब वितरणमा लापरवाही देखाएको कुरा उजागर भएको छ।

> “तलब पाइएन भनेर मलाई सबैभन्दा धेरै फोन मधेसबाट आएको छ। वर्ष दिनमा आउने दशैं, तिहार र छठ पर्वजस्ता महान चाडपर्वको बेलामा पनि पालिकाले ढिलासुस्ती र अनेक बहाना देखाएर तलव नखुवाएको ५०० भन्दा बढी गुनासो मलाई फोन र इमेलमार्फत् आएको छ,” – मन्त्री पुन।

उनले यसलाई ‘गम्भीर बेथिति’ भन्दै अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको र चाँडै समाधानका उपाय खोजिने जनाएका छन्। साथै, सम्बन्धित पालिकाहरूले शिक्षक तथा कर्मचारीलाई चाडपर्व अगावै तलब वितरण गर्ने जिम्मेवारी तत्काल बहन गर्नुपर्नेमा जोड दिएका छन्।

मन्त्री पुनले शिक्षक, कर्मचारीहरूलाई चाडपर्वमा परेको असुविधाप्रति खेद व्यक्त गरेका छन्।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button