पब्लिक प्रेस ।
राजविराज । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा युएन ओमेनको सहयोग तथा आसमान नेपालद्वारा सञ्चालित “सशक्त महिला, समृद्ध नेपाल” कार्यक्रमअन्तर्गत महिलाहरूलाई आत्मनिर्भर र सशक्त बनाउने उद्देश्यले बेमौसमी तरकारी खेती तथा च्याउ खेतीसम्बन्धी १८ दिने तालिम सम्पन्न गरिएको छ।
गाउँपालिका वडा नं. ५ मा आइतबार आयोजित समापन कार्यक्रममा ३० जना महिलालाई समेटेर “श्री महालक्ष्मी महिला उद्यमी किसान समूह” गठन गरिएको छ। तालिमसँगै समूहलाई कृषि तथा उद्यमशीलता प्रवर्द्धनका लागि आवश्यक कृषि सामग्रीहरू पनि वितरण गरिएको आयोजकले जनाएको छ।
वितरण गरिएका सामग्रीहरूमा समूहका लागि ३ वटा मोटर, ६ बन्डल प्लास्टिक पाइप, प्रत्येक सहभागीका लागि ३० वटा क्यारेट, ३ वटा स्प्रे मेसिन, ३ वटा तौल मेसिन तथा प्रत्येकलाई ३० पिस प्लास्टिक जाली वितरण गरिएको छ।
कार्यक्रम वडा नं. ५ का वडा अध्यक्ष हरिखङ्गको अध्यक्षतामा कृषि सामग्री वितरण गरी सम्पन्न भएको हो। कार्यक्रममा सहभागी रामबती मेहताले तालिम तथा कृषि सामग्री प्राप्त भएपछि आफूहरू उत्साहित भएको बताइन्। उनका अनुसार अब महिलाहरू आत्मनिर्भर बन्ने, हिंसाविरुद्ध आवाज उठाउने, आफ्नो क्षमता विकास गर्ने तथा आर्थिक रूपमा सबल बन्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सहभागी महिलाहरूले महिला सशक्तीकरणमा सहयोग पुर्याएको भन्दै संयुक्त राष्ट्रसंघीय निकाय UN Women, आसमान नेपाल तथा अग्निसाइर कृष्णासवरन गाउँपालिकाप्रति धन्यवाद व्यक्त गरेका छन्।
आसमान नेपालका अनुसार सो कार्यक्रमअन्तर्गत पालिकाको वडा नं. १ मा तालिम सञ्चालन गरी आवश्यक सामग्री वितरण गरिएको छ। अब वडा नं. २ र ५ मा समेत कृषि सामग्री वितरण गरिने तयारी रहेको आयोजकले जनाएको छ।










