पब्लिक प्रेस
सप्तरीको राजविराजमा प्रहरी प्रशासनको मनोमानी र निर्दोष नागरिकमाथिको अन्यायपूर्ण कारबाहीको विरोधमा हिन्दु सम्राट सेना नेपाल, कार्य समिति सप्तरीले कडा चेतावनी दिएको छ।
संस्थाका अध्यक्ष सुरेन्द्र दासद्वारा प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख अनुसार, राजविराज–६ निवासी बिशाल चौधरी, उनका बुबा गणेश चौधरी र कान्छा छोरा लालु चौधरीलाई प्रहरीले कार्तिक १९ गते राति कुनै ठोस प्रमाणबिना नियन्त्रणमा लिएर दुर्व्यवहार गरेको आरोप लगाइएको छ।
ज्ञापनपत्रमा भनिएको छ — जिल्ला प्रहरी कार्यालय राजविराजमा कार्यरत प्रहरी जवान दिपक साह सोनारले बिशाल चौधरीकी श्रीमतीसँग बारम्बार अनैतिक प्रस्ताव राख्ने प्रयास गरेको र परिवारले विरोध जनाएपछि उल्टै प्रहरी पक्षले चौधरी परिवारमाथि ‘अभद्र व्यवहार’ मुद्दा दर्ता गरेको हो।
स्थानीयवासीका अनुसार, उक्त घटनामा निर्दोष परिवारमाथि बलजफ्ती मुद्दा लगाई प्रहरी प्रशासनले शक्ति प्रदर्शन गरेको छ। हिन्दु सम्राट सेनाले यस्तो मनोमानी कार्यप्रति आक्रोश व्यक्त गर्दै दोषी प्रहरीमाथि तत्काल कडा कारबाही र निर्दोष परिवारलाई रिहा गर्न माग गरेको छ।
संस्थाले चेतावनी दिँदै भनेको छ — “यदि माग पूरा भएन भने हामी पत्रकार सम्मेलनमार्फत सत्यतथ्य सार्वजनिक गरी शान्तिपूर्ण आन्दोलनमा उत्रिनेछौं।”
त्यसैगरी, सेनाले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय दुवैको ध्यानाकर्षण गराउँदै भनेको छ कि “प्रहरीको पावर र संरक्षणमा निर्दोष नागरिकमाथि अन्याय र त्रास सिर्जना हुनु गम्भीर अपराध हो।”
हिन्दु सम्राट सेना सप्तरीका अध्यक्ष सुरेन्द्र दासले भने,
“नागरिकलाई त्रासमा राखेर प्रहरी मनोमानी गर्न सक्दैन। दोषीलाई सजाय र निर्दोषलाई न्याय चाहिन्छ।”
यस विषयमा घटनाको राति र भोलिपल्ट बिहान जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बरबहादुर पुरीसँग सम्पर्क प्रयास गर्दा उहाँले फोन नउठाएको पाइएको छ।










