पब्लिक प्रेस ।
राजविराज । अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा सप्तरी प्रहरीले विभिन्न मुद्दामा फरार रहेका १६ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सम्मानित सप्तरी जिल्ला अदालत, राजविराजबाट विभिन्न मुद्दामा फैसला भई फरार रहेका प्रतिवादीलाई खोजतलास गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
पक्राउ पर्नेमा बलान–बिहुल गाउँपालिका–५ का मिथुन भन्ने चन्द्रकान्त यादव र मुकेशकुमार यादव तथा डाक्नेश्वरी नगरपालिका–४ का विनोदकुमार यादव रहेका छन्। चन्द्रकान्त यादव नकबजनी चोरी मुद्दामा ५ हजार रुपैयाँ र मुकेशकुमार यादव सवारी ज्यान मुद्दामा २ हजार रुपैयाँ जरिवाना तोकिएका प्रतिवादी हुन्। विनोदकुमार यादवलाई कुटपिट मुद्दामा ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
त्यसैगरी कुटपिट मुद्दामा फरार रहेका बलान–बिहुल गाउँपालिका–५ का संजीवकुमार यादव, राजकुमार यादव, रामचन्द्र यादव, जितेन्द्र यादव, भुपनारायण यादव, अशोककुमार यादव, शिवराम यादव, प्रदीप यादव, चन्द्रेश्वर यादव, अजितकुमार यादव र देवनारायण यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरू प्रत्येकलाई ३ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
डाक्नेश्वरी नगरपालिका–३ का आरतीदेवी मुखिया र सुन्दरलाल मुखियालाई समेत कुटपिट मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई जनही ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो।
प्रहरीका अनुसार पक्राउ परेका १६ जना प्रतिवादीबाट अदालतले तोकेको कुल ४६ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ। पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
0 1 minute read










