समाचार

अतिक्रमित सार्वजनिक जग्गा जोगाउन : जनतासँग खुला छलफल 

 

पब्लिक प्रेस ।

 

तिलाठी कोइलाडी गाउँपालिका–३, सकरपुरामा रहेको सार्वजनिक जग्गा संरक्षण तथा व्यवस्थापनका लागि वडा कार्यालयले स्थानीयस्तरमा भेला आह्वान गरेको छ।
सोमबार जारी गरिएको वडा कार्यालयको हस्ताक्षरित सूचनामार्फत उक्त जानकारी गराइएको हो। वडा नम्बर ३ का वडा अध्यक्ष रमेश कुमार मुखियाद्वारा जारी गरिएको सूचनामा साविक गाविस सकरपुरा वडा नं. १ अन्तर्गत पर्ने कित्ता नम्बर १५, ६०, ६२ र ६३ को जग्गा नेपाल सरकारको नाममा कायम रहेको उल्लेख गरिएको छ।
वडा कार्यालयका अनुसार उक्त जग्गामा अवरोध तथा अतिक्रमणको सम्भावना बढ्दै गएपछि संरक्षणका लागि आवश्यक पहल थालिएको हो। यसैबीच, सो जग्गालाई सार्वजनिक रूपमा निर्वाध प्रयोग गर्न दिनुपर्ने भन्दै उच्च अदालत जनकपुर, राजविराज इजलासबाट अन्तरिम आदेश समेत जारी भइसकेको सूचनामा उल्लेख छ। अदालतले उक्त जग्गामा कुनै किसिमको बाधा–अवरोध नगर्न र यथास्थितिमा राख्न निर्देशन दिएको छ।
अदालतको आदेश कार्यान्वयन तथा सार्वजनिक सम्पत्तिको संरक्षणका विषयमा व्यापक छलफल गर्न स्थानीयस्तरमा भेला आह्वान गरिएको वडा कार्यालयले जनाएको छ। भेला लागि स्थानीय बुद्धिजीवी, समाजसेवी, जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा कार्यकर्ता, वडा प्रत्यासी, महिला तथा युवाहरुलाई उपस्थित हुन आग्रह गरिएको छ।
यस सम्बन्धमा वडा अध्यक्ष रमेश कुमार मुखियाले “सरकारको नीति निर्देशनको पालना गर्नु मेरो धर्म हो,” भन्दै सार्वजनिक सम्पत्तिको संरक्षणमा कुनै सम्झौता नहुने स्पष्ट पारे।
भेला २०८३ वैशाख ३ गते बिहान ८ बजे तिलाठी कोइलाडी गाउँपालिका–३, सकरपुरा (साबिक वडा नं. १ को पुल नजिक) मा बस्ने जनाइएको छ। भेलाबाट सार्वजनिक जग्गाको संरक्षण, व्यवस्थापन तथा अतिक्रमण नियन्त्रणका विषयमा ठोस निर्णय लिइने अपेक्षा गरिएको छ।
वडा कार्यालयले सार्वजनिक सम्पत्तिको संरक्षणमा सबैको साझा जिम्मेवारी रहने उल्लेख गर्दै सक्रिय सहभागिताका लागि सबै सरोकारवालालाई आग्रह गरेको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button