पब्लिक प्रेस।
बारा ।
बाराको जितपुर-सिमारामा तीन वर्षीया अबोध बालिका गरिमा चौधरीको निर्मम हत्या भएको घटनापछि जन अधिकार पार्टीका अध्यक्ष डा. शरद सिंह यादव पीडितको घर पुगेर अभिभावकलाई सान्त्वना दिएका छन्।पीडित परिवारसँगको कुराकानीका क्रममा अध्यक्ष यादवले उक्त घटनालाई अत्यन्तै पाशविक, निर्मम र मानवतामाथिकै कलंकको रूपमा टिप्पणी गरे। यस्ता जघन्य अपराधका दोषीलाई उम्किन नदिन संसदबाट संविधान संशोधन गरी वा फास्ट ट्र्याकबाट कानुनी प्रक्रिया अगाडि बढाएर मृत्युदण्ड वा फाँसीको सजाय दिने व्यवस्था गर्नुपर्ने धारणा उनले राखे।
उनले देशमा साना-साना बालबालिकाहरूमाथि भइरहेका यस्ता घटना सामान्य नभएको भन्दै प्रधानमन्त्री, गृहमन्त्री र कानुनमन्त्रीले विशेष पहल गरी संसदमा सशक्त कुरा उठाउनुपर्नेमा जोड दिए। जन अधिकार पार्टीको तर्फबाट पनि यस विषयलाई जोडदार रूपमा उठाइने प्रतिबद्धता जनाउँदै उनले भविष्यमा अरू कुनै पनि नेपाली नागरिक र बालबालिकाले यस्तो पीडा भोग्न नपरोस् भनी कानुनी कठोरताको माग गरे।










