नविन यादव निर्भय
सप्तरी जिल्लाको राजविराज नगरपालिकामा बढ्दो चिसो र शीतलहरबाट प्रभावित सर्वसाधारणलाई राहत पुर्याउने उद्देश्यले नेपाली सेना श्री बरख गणले मानवीय सहयोग प्रदान गरेको छ।
शनिवार बिहान श्री बरख गणबाट सेनानी भरत गिरीको कमाण्डमा १/१६ नफ्रि टोली खटिएर राजविराज नगरपालिका वडा नम्बर २, ५ र ७ का विभिन्न स्थानमा दाउरा वितरण तथा आगो बाल्ने व्यवस्था गरिएको हो। उक्त सहयोग गजेन्द्र नारायण सिंह अस्पताल परिसर, छिन्नामस्ता अस्पताल चोक, राजदेवी चोक, तित्रिगाछी चोक, बसपार्क चोक, नेता चोक लगायतका व्यस्त बजार क्षेत्रहरूमा केन्द्रित गरिएको थियो।

श्री बरख गणले जिल्ला वन डिभिजनको सहयोगमा करिब २०० जना स्थानीय नागरिकलाई प्रत्यक्ष लाभान्वित हुने गरी दाउरा वितरण र आगो बाल्ने सहकार्य गरेको जनाएको छ। चिसो मौसमका कारण वृद्ध, अशक्त, बिरामी तथा विपन्न वर्ग बढी प्रभावित भएको अवस्थामा नेपाली सेनाको यो कदम अत्यन्तै सराहनीय रहेको स्थानीयवासीहरूले बताएका छन्।

शान्ति सुरक्षा मात्र होइन, विपद् तथा कठिन परिस्थितिमा जनताको जीवन रक्षा र सेवामा सदैव अग्रसर रहँदै आएको नेपाली सेनाको यस प्रकारको मानवीय कार्यले सेनाप्रति जनविश्वास अझ सुदृढ बनाएको छ।











