समाज

सप्तरीको राजविराजमा हिन्दू–मुस्लिम समुदायबीच झडप, स्थिति तनावग्रस्त

 

राजविराज, — सप्तरी जिल्लाको राजविराज नगरपालिका–२ स्थित राजदेवी क्षेत्रमा हिन्दू र मुस्लिम समुदायबीच धार्मिक आस्थाका विषयमा गम्भीर झडप भएको छ।

तिहारको अवसरमा लक्ष्मी पूजा समितिले सार्वजनिक जग्गामा बजरंग बलिको झण्डा गाड्ने प्रयास गर्दा धार्मिक भावना आहत भएको भन्दै मुस्लिम समुदायले कडा आपत्ति जनाएपछि स्थिति तनावपूर्ण बनेको हो।

घटनास्थल गुलाब ग्यारेज अगाडि झण्डा गाड्ने कार्य समितिका अध्यक्ष पञ्चदेव चौधरीको नेतृत्वमा करिब २० जनाले सुरु गरेका थिए। सोही क्रममा मुस्लिम समुदायका अगुवा मोहम्मद सम्सुदिनको नेतृत्वमा करिब २५ जना उपस्थित भई यस स्थानमा वर्षौंदेखि मोहर्रम पर्व मनाउँदै आएको र धार्मिक सद्भावमा चोट पुग्ने भन्दै कडा विरोध जनाएपछि दुई पक्षबीच वाकयुद्ध हुँदै झडपमा परिणत भएको छ।

झडपको क्रममा मुस्लिम समुदायका मो. गफार घाइते भएका छन्। प्रारम्भिक जानकारी अनुसार उनको हात खुट्टामा सामान्य चोट लागेको बताइएको छ।

लक्ष्मी पूजा समितिका अनुसार उक्त स्थानमा मूर्ति स्थापना र झण्डा गाड्ने कार्य वार्ड नं. १ का अध्यक्ष चन्द्र शेखर चौधरी र वार्ड नं. २ का अध्यक्ष अरुण यादवको अनुमतिमा गरिएको थियो।

घटनापछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीको जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक उदय राईको कमान्डमा १/२५ को टोली र सशस्त्र प्रहरी बल गण नं. ६ बाट निरीक्षक युराज रिजालको नेतृत्वमा थप १/२५ को फोर्स परिचालन गरिएको छ।

हाल उक्त क्षेत्र अत्यन्त तनावग्रस्त रहेको छ भने स्थानीय प्रशासनले दुवै पक्षलाई बुझाउने र सम्झाउने प्रयास गरिरहेको छ।

धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा आँच आउने यस्ता घटनालाई गम्भीर रूपमा लिनु पर्ने आवाजहरू समेत उठ्न थालेका छन्।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button