सप्तरीमा न्यायको माग गर्दै समाजवादी युवा संघ नेपालका जिल्ला अध्यक्ष केदार यादवले प्रहरी प्रशासनको भूमिकाप्रति गम्भीर प्रश्न उठाएका छन्।
चैत्र २८ गते जनता समाजवादी पार्टी नेपालका विष्णुपुर गाँउपालिका वाड नम्बर १ काे अधिवेशनकाे क्रममा विष्णुपुर गाउँपालिका अध्यक्ष उमेश यादव पक्ष र समाजवादी युवा संघ नेपालीको समूहबीच झडप भएको थियो। झडपमा समाजवादी युवा संघ नेपाल सप्तरीका जिल्ला अध्यक्ष केदार प्रसाद यादव र विष्णुपुर गाउँपालिका कमिटी अध्यक्ष देवेन्द्र यादव घाइते भएका थिए।
घाइतेहरूलाई गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा उपचार गराइयो, जहाँ उनीहरूको शरीरका विभिन्न भागमा घरेलु हातहतियार प्रयोग गरिएका डाम देखिएको थियो। अध्यक्ष यादवको टाउको फुटेको थियो भने वडा कमिटी अध्यक्षको टाउकोमा दुई चोट लागेको थियो। थप उपचारका लागि उनीहरू धरान पुगे र ३१ गते स्वास्थ्य लाभ गरी घर फर्किए।
प्रहरी प्रशासनको भूमिकाप्रति प्रश्न ?
यस घटनामा संलग्न रहेको आरोपमा विष्णुपुर गाउँपालिका अध्यक्षसहित ६ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा चैत २८ गते जाहेरी दिइएको थियो। समाजवादी युवा संघ नेपाल सप्तरी र समाजवादी विद्यार्थी युनियन नेपाल सप्तरीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको घोर निन्दा गर्दै कडा कारबाहीको माग गरेका छन्।
७ गते जिल्ला प्रशासनमा ध्यानाकर्षण पत्र बुझाइए पनि अहिलेसम्म कुनै निकायबाट न्याय नपाएको भन्दै अध्यक्ष यादवले प्रहरी प्रशासनको भूमिकाप्रति प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रहरी प्रशासनले आक्रमणकारीलाई संरक्षण गरिरहेको आरोप लगाएका छन्।
न्यायको माग र प्रशासनको मौनता
समाजवादी युवा संघ नेपाल सप्तरीले प्रहरी प्रशासनको निष्क्रियता प्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै न्यायको सुनिश्चितताको माग गरेको छ। सप्तरीका नागरिकहरू पनि न्यायको पक्षमा आवाज उठाउँदै घटनाको निष्पक्ष छानबिनको माग गरिरहेका छन्।
यो घटनाले सप्तरीमा न्यायप्राप्तिको प्रक्रिया र प्रहरी प्रशासनको निष्पक्षता माथि गम्भीर प्रश्न खडा गरेको छ।
"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।