प्रहरी प्रशासनसमाज

सप्तरीमा ‘पैसा डबल’ ठगी : पत्रकारसहित गिरोहका मुख्य नाइके पक्राउ

नविन  निर्भय यादव 

राजविराज | 

सप्तरीमा पैसा ‘डबल’ गरिदिने नाममा दशकदेखि चलिरहेको ठगी धन्दाको पर्दाफास भएको छ। यो धन्दामा संलग्न पत्रकारसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सप्तरी प्रहरीले बुधबार ९ गते बिहान पत्रकार महासङ्घ सप्तरीका पूर्व उपाध्यक्ष वैद्यनाथ यादवलाई तिलाठीबाट पक्राउ गरेको हो। पत्रकार यादवमाथि ठगी र आपराधिक विश्वासघातको मुद्दा दर्ता भइसकेको प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

यसअघि, यो गिरोहका मुख्य नाइके हनुमानी रजकलाई प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–७ बाट पक्राउ गरिसकेको थियो। दुवैविरुद्ध अहिलेसम्म १३ वटा उजुरी दर्ता भएको छ। प्रहरीका अनुसार यो गिरोहले झण्डै *अढाइ करोड रुपैयाँ* ठगी गरिसकेको छ।

दशक लामो ठगीको पर्दाफास

प्रहरी अनुसन्धानका अनुसार यो ठगी धन्दा करिब १० वर्षअघि पत्रकार र नेताहरूसहितको गिरोह बनाएर सुरु गरिएको थियो। आफूहरूसँग पैसा छाप्ने मेसिन रहेको भन्दै सर्वसाधारणलाई झुक्याउने र ठूलो रकम ठग्ने काम यो गिरोहले गर्दै आएको पाइएको छ।

भुक्तभोगी भरत ठाकुर भन्छन्, “सुरुमा उनीहरू पैसा छाप्ने मेसिन र केमिकल प्रयोगबाट पैसा डबल बनाइने झूटो प्रचार गर्थे। पैसा ठगीसकेपछि केमिकल सकिएको बहाना गर्थे र धम्की दिन्थे।”

प्रहरीका अनुसार गिरोहले सुरुमा सानो रकम लिएर डबल बनाएर फिर्ता गरिदिन्थ्यो। यसले सर्वसाधारणलाई लोभ्याउँथ्यो। पछि ठूलो रकम लिएपछि भने सम्पर्कविहीन हुने र धम्की दिनेजस्ता आपराधिक गतिविधि गर्ने गरेको खुलासा भएको छ।

गिरोहविरुद्ध प्रहरीको सूक्ष्म अनुसन्धान

प्रहरी प्रवक्ता बस्नेतका अनुसार गिरोहले ठगी गर्दा कुनै लिखित प्रमाण नदिने भएकाले सर्वसाधारण बिचल्लीमा पर्ने गरेका थिए। तर दर्जनौँ उजुरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गर्दा यो ठगी धन्दाको जालो फेला परेको हो।

“गिरोह ठुलो योजनाका साथ काम गरिरहेको देखिन्छ। घटनाको विस्तृत अनुसन्धान सुरु गरेका छौँ,” बस्नेतले भने।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

सावधानीको अपिल

प्रहरीले यस्तो किसिमको ठगीबाट सचेत रहन सबैलाई अपिल गर्दै आर्थिक प्रलोभनमा नपर्न सर्वसाधारणलाई सुझाव दिएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button