सप्तरीको शैक्षिक, स्वास्थ्य, यातायात, विद्युत र सामाजिक विकासमा डा. नागेश्वर प्रसाद सिंहको योगदान उल्लेखीय रहेको राजविराजमा शनिवार आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।
राजविराज जेसीज भवनमा आयोजित सिंहको १४औं स्मृतिसभामा बक्ताहरुले उहाँको आदशर्« र मार्गलाई आत्मसात गरी अघि बढे सदभावसँगै विकासले गति लिने बताएका हुन् ।
कार्यक्रममा स्वर्गीय सिंह विकास प्रेमी, शान्ति प्रेमीका साथै शिक्षा प्रेमी समेत रहनु भएको चर्चा वक्ताहरुले गरे । सिंहको योगदानलाई स्मरण गर्न चिरस्थायी रुपमा स्मारिका प्रकाशन र प्रतिष्ठान स्थापना गर्न सके उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने अधिकांश वक्ताहरुले जोड दिए ।
कार्यक्रममा मधेश कृषि विश्वविद्यालयका रजिष्टार डा. भगवान ठाकुर, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. कामानन्द देव, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका प्रमुख राजिव मिश्र, पूर्व क्याम्पस प्रमुख डा. चिरञ्जिबी लाल देब, राजविराज नगरपालिकाका पूर्व नगर प्रमुख शैलेश चौधरी, नेपाल रेडक्रस सोसाइटी सप्तरीका सभापति जोगेन्द्र भगत, इतिहासविद् कमल दास, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, पूर्व प्रधानाध्यापक विजयानन्द झा, बौद्धिक अपाङ्ग अभिभावक संघ सप्तरीका अध्यक्ष जगदीश अर्याल, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष विष्णु मण्डललगायतले सिंहको योगदानको चर्चा गर्नुभयो ।
नेपाल विश्व शान्ति समितिका महासचिव मधुबहादुर विसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार, अधिकारकर्मी मनोहर पोखरेलले र स्वागत पत्रकार अरुण तिवारीले गर्नुभयो । कार्यक्रममा कवि सत्येन्द्र चौधरीले कविता वाचन र सिंहका नाती निशान्त सिंहले गम्छा ओढाएर सहभागीहरुलाई सम्मान गर्नुभयो ।
डा. सिंह २०१६ सालमा प्रतिनिधि सभामा सप्तरीबाट निर्वाचित हुनुभएको थियो भने २०१७ साल पुस १३ गते अर्थमन्त्री, २०१९ असार १८ गते स्वास्थ्य, विजुली र नहर मन्त्री, २०१९ चैत २० गते स्वास्थ्य, विद्युत् तथा नहर मन्त्री तथा २०२० चैत २७ गते निर्माण, सञ्चार, यातायात तथा स्वास्थ्य मन्त्री बन्नु भएको थियो ।
समाजसेवी एवं शान्तिकामी, जुझारु र निष्ठावान व्यक्तित्वका धनी सिंह वि.सं. २०११ मा भारतबाट एमबीबीएस उत्तीर्ण गरेर नेपाल फर्केपछि चिकित्सा पेशामा नलागेर राजनीतिमा लाग्नु भएको थियो । इस्वी सम्वत १९२६ जुलाई २७ का दिन तत्कालिन कोइलाडी ग्राम पञ्चायत वडा नम्बर ३ मा माता राजपरी सिंह र पिता कारी सिंहको तेश्रो सन्तानको रुपमा जन्मनु भएका स्व. सिंह राजनीति क्षेत्रसँग सँगै सामाजिक संघ संस्थाहरुमा समेत सक्रिय रहनु हुन्थ्यो ।
नेपाल रेडक्रस सोसाईटीका संस्थापक, नेपाल मेडिकल एशोसिएशन तथा क्षयरोग निवारण संस्थाका संस्थापक रहनु भएका वहाँ लायन्स क्लव सप्तरीका संस्थापक रही डिस्ट्रीक गर्भनर ३२५ सम्म बन्नु भएको थियो । वि.स. २०१८ सालमा डा. सिंह नेपाल चिकित्सक संघको चौथो अध्यक्ष निर्वाचित हुनु भएको थियो । नेपाल विश्व शान्ति समितिका अध्यक्ष, नेपाल नागरिक समितिका अध्यक्ष र नेपाल विश्व शान्ति समितिका अध्यक्ष समेत रहनु भएका उहाँको २०६७ साल साउन २ गते राजविराज नगरपालिका ३ स्थित आफ्नै निवासमा ८५ वर्षको उमेरमा निधन भएको थियो । उहाँका दुई छोरा मध्ये जेठा छोरा गोविन्द सिंह राजनीति क्षेत्रबाट हाल सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ भने शंकर सिंह चिकित्सक हुनुहुन्छ ।
वि.स २०२५ सालदेखि पञ्चायतको मुलधारबाट अलग भएर उहाँ मूलत सामाजिक र शान्तिको कामनामा अभियानी भएर लाग्नु भएको थियो । डा. सिंहका जेठा दाइ भगवतीप्रसाद सिंह सर्वोच्च अदालतका पुर्व प्रधानन्यायाधीश र माइला दाजु बबरप्रसाद सिंह सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो ।
"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।