राजविराज, सप्तरी — सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ बभनगामामा नाबालक बेपत्ता प्रकरणले गम्भीर रूप लिएको छ। स्थानीय जयकृष्ण कुमार यादवले आफ्नै छिमेकी रामदेव यादव र कारी यादवमाथि छोरा अमन कुमार यादवलाई अपहरण गरी बन्धक बनाउँदै फिरौती मागेको आरोप लगाएका छन्।
शुक्रबार नेपाल पत्रकार महासंघ, सप्तरी शाखाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा यादवले २०८२ पुस १९ गतेदेखि छोरा रहस्यमय रूपमा बेपत्ता भएको र हालसम्म कुनै अत्तोपत्तो नभएको बताए। उनका अनुसार आरोपितहरूले १० हजार रुपैयाँ नगद र १ विघा जग्गा दिए बालक फिर्ता गरिदिने भन्दै पटक–पटक दबाब दिएका थिए। “जग्गा देऊ, छोरा दिन्छु भन्ने सर्त राखियो,” उनले दाबी गरे।
पीडितका अनुसार घटना योजनाबद्ध देखिन्छ। “रामदेवले नातिको जन्मदिनको बहानामा मेरो छोरालाई हनुमाननगर लैजान खोज्यो, मैले मानेनँ,” उनले भने, “तर साँझ छोरा आफैं उनको घर पुग्यो। राति घर फर्किएपछि सामान्य कुटपिट भएको थियो, त्यसपछि सोही दिनदेखि बेपत्ता भयो।”
यादवले यसअघि पनि बालकलाई ललाई–फकाई लगिएको दाबी गरेका छन्। मंसिर महिनामा पहिलो पटक सुनसरीको सीमा क्षेत्र (बेला बोर्डर) नजिकै रामदेव यादवका आफन्तको घरमा लगिएको र करिब १५–२० दिनपछि आफन्तमार्फत फेला परेको उनको भनाइ छ। पुनः दोस्रो पटक घटना दोहोरिएपछि बालक पूर्ण रूपमा सम्पर्कविहीन बनेको दाबी गरिएको छ।
घटनासँगै अर्को गम्भीर आरोप पनि सार्वजनिक गरिएको छ। पीडितका अनुसार घरबाट जग्गाको लालपुर्जा चोरी भएको छ र त्यसमा कारी यादवको संलग्नता रहेको आशंका गरिएको छ। सो विषयमा कुरा उठाउँदा “१ विघा खेत दिए मिलाइदिन्छु” भन्ने प्रस्ताव आएको उनले बताएका छन्, जसले प्रकरणलाई थप शंकास्पद बनाएको छ।
यादवले छोरा हराएको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा दर्ता नं. २८१४ अन्तर्गत निवेदन दिएका थिए। यद्यपि, महिनौँसम्म बालक फेला नपरेपछि उनले अनुसन्धानप्रति असन्तुष्टि जनाएका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीका अनुसार जयकृष्ण यादवले २०८२ माघ १९ गते निवेदन दिएका थिए भने माघ २२ गते बालकको हुलिया सार्वजनिक गरिएको थियो। “सबै युनिटमा परिपत्र गरेर खोजतलास तीव्र पारिएको छ,” उनले भने।
प्रहरीका अनुसार हुलियामा उल्लेख गरिएको मोबाइल नम्बरसम्बन्धी विवरणमा समेत अनुसन्धान भइरहेको छ, जसमा उक्त नम्बर पीडित पक्षकै प्रयोगमा रहेको प्रारम्भिक तथ्य देखिएको छ।
यसैबीच, पीडितले चैत १६ गते जिल्ला प्रशासन कार्यालयमा रामदेव यादव र कारी यादवविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी छुट्टै निवेदन दिएका छन्। उक्त निवेदन प्रहरी कार्यालयमा आइसकेको र दुवै उजुरीलाई आधार मानी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
महिनौँ बित्दा पनि बालक फेला नपरेपछि परिवारमा चरम पीडा र अन्योल छाएको छ भने स्थानीय समुदायमा त्रास र आक्रोश बढ्दै गएको छ। पीडित परिवारले छोराको सुरक्षित उद्धार, घटनाको सत्यतथ्य सार्वजनिक तथा दोषीमाथि कडा कारबाहीको माग गर्दै सम्बन्धित निकायसँग तत्काल हस्तक्षेपको अपिल गरेका छन्।
यता, आरोपित रामदेव यादवले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन्।
0 2 minutes read








