नविन यादव
सप्तरी — तिलाठी कोइलाडी गाउँपालिका–७ सडेपाड निवासी २८ वर्षीय कुरमान मंसुरीले आफ्नै पहलमा हप्तामा एक दिन निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका छन्। गंगा मधुमाया पोखरेल मेमोरियल ट्रस्टद्वारा सञ्चालनमा ल्याइएको एम्बुलेन्समार्फत उनले गाउँपालिकाभित्रका वडा नम्बर १ देखि ८ सम्मका बिरामीलाई प्रत्येक शुक्रबार निःशुल्क सेवा उपलब्ध गराउँदै आएको जानकारी पब्लिक प्रेसकर्मीलाई दिएका छन्।
मंसुरीका अनुसार गाउँपालिकाभित्रका बिरामीलाई उपचारका लागि सदरमुकाम राजविराज पुर्याउन मात्र उक्त एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराइएको हो। साथै सोही दिन बिरामीकाे लागि निःशुल्क खाना र पानीको समेत व्यवस्था गरिएको उनले बताए।
उनले यो सेवा पूर्ण रूपमा निःस्वार्थ भावनाले सुरु गरिएको उल्लेख गर्दै यसमा कुनै राजनीतिक दल वा संघसंस्थाको सहयोग नरहेको स्पष्ट पारे। “एक दिन मेरी आमा बिरामी हुँदा स्थानीय तहसँग एम्बुलेन्स सेवा माग्दा पनि उपलब्ध हुन सकेन। त्यो घटनाले मलाई निकै दुःखी बनायो। त्यसपछि गरिब तथा विपन्न बिरामीलाई सहयोग गर्ने उद्देश्यले यो सेवा सुरु गरेको हुँ,” मंसुरीले पब्लिक प्रेसकर्मीलाई बताए।
उक्त एम्बुलेन्स यसअघि उनका दाजु जमाहीर मंसुरीले सञ्चालन गर्दै आएका थिए। करिब छ महिनाअघि दाजुले एम्बुलेन्स उनलाई हस्तान्तरण गरेपछि उनले चैत १ गतेदेखि हरेक शुक्रबार निःशुल्क सेवा सञ्चालन गर्दै आएका छन्।
मंसुरीका अनुसार सेवा सञ्चालन गर्दा विशेषगरी गर्भवती महिला र ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखिएको छ। जिल्लाका विभिन्न स्थानीय तहले अझैसम्म प्रभावकारी रूपमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन नसकेको अवस्थालाई मध्यनजर गर्दै यस्तो पहल गरिएको उनका दाजु जमाहीर मंसुरीले बताए।
“हप्तामा एक दिन भए पनि गरिब, दलित र दिनदुःखीलाई निःशुल्क सेवा दिन पाउँदा साँचो मानवताको उदाहरण प्रस्तुत भएको महसुस गरेको छु,” उनले भने।
निःशुल्क एम्बुलेन्स सेवा लिन इच्छुक गाउँपालिकावासीले ९७०६६९८७५१ वा ९८११७२८०९० नम्बरमा सम्पर्क गर्न सकिने जानकारी पनि दिइएको छ।










