धर्मसमाज

सुरक्षा बल र स्थानीय सरकारको सहकार्यमा शक्ति पीठ सरसफाइ, भक्तजन हर्षित

सप्तरी — हनुमानगर कंकालनी नगरपालिका र शस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेस पोर्ताहको संयुक्त पहलमा शुक्रबार विहान कंकालनी शक्ति पीठ परिसरमा विशेष सरसफाइ अभियान सम्पन्न भएको छ। धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण तथा आम नागरिकमा स्वच्छता–चेतना अभिवृद्धि गर्ने उद्देश्यले गरिएको यो अभियान स्थानीयस्तरमा अनुकरणीय उदाहरणका रूपमा प्रस्तुत भएको छ।

कार्यक्रमअन्तर्गत कंकालनी मन्दिरको मुख दरबार, अगाडि र पछाडिको सम्पूर्ण कम्पाउन्ड क्षेत्रको फोहोर व्यवस्थापन, झाडी कटान, धुलो सफाइ र सरसफाइ सामग्रीको प्रयोगमार्फत वातावरणलाई स्वच्छ बनाइएको थियो। सरसफाइको क्रममा मन्दिर परिसरको भौतिक संरचना पनि व्यवस्थित पारिएको नगरपालिकाले जनाएको छ।

अभियानको नेतृत्व हनुमानगर कंकालनी नगरपालिकाका मेयर बिरेन्द्र माझी र शस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेस पोर्ताहका डिएसपी विकास अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा पत्रकार भूुपदेव माली, पत्रकार नविन निर्भयसहित नगरका जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयवासीको सक्रिय उपस्थिति थियो।
मेयर माझीले कंकालनी मन्दिरलाई धार्मिक आस्था मात्र नभई स्थानीय पहिचान र संस्कृतिको धरोहरका रूपमा वर्णन गर्दै मन्दिरको पवित्रता र सौन्दर्य जोगाउनु सबैको कर्तव्य भएको बताउनुभयो। उहाँले भन्नुभयो, “सफा वातावरण भक्तजनको स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष सम्बन्धित छ। हामी सबैले आस्थाको केन्द्रलाई स्वच्छ राख्न योगदान दिनुपर्छ।”

शस्त्र प्रहरी बलका डिएसपी अधिकारीले सुरक्षा निकाय केवल अपराध नियन्त्रणका लागि मात्र नभई सामाजिक र धार्मिक स्थलहरूको संरक्षणमा पनि संलग्न हुने स्पष्ट पार्नुभयो। उहाँले धार्मिक स्थलहरूलाई सफा र सुरक्षित राख्नु राष्ट्र र संस्कृतिप्रति सम्मान प्रकट गर्ने एउटा माध्यम भएको उल्लेख गर्दै यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

कंकालनी शक्ति पीठ धार्मिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण स्थल हो। विश्वास अनुसार, यहाँ पूजा–अर्चना गर्दा मनोकामना पूरा हुने र शान्ति, समृद्धि प्राप्त हुने मान्यता छ। वर्षभर हजारौं भक्तजन यस मन्दिरमा दर्शन गर्न आउने भएकाले सफा र सुव्यवस्थित वातावरणले धार्मिक पर्यटनको विकासमा सकारात्मक प्रभाव पार्ने स्थानीयको विश्वास छ।

सफाइ कार्यक्रममा सहभागी स्थानीयवासीले यसलाई ‘भक्ति र सेवा’को संगमका रूपमा व्याख्या गरेका छन्। धेरै भक्तजनले धार्मिक स्थलमा सरसफाइलाई पूजा–अर्चनाको अभिन्न अङ्गका रूपमा लिनुपर्ने धारणा राखे।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button