समाज

छठ पर्वलाई लक्षित गरी राजविराजमा पोखरी सरसफाइ : सामाजिक अभियानमा नेपाली सेनाको सराहनीय भूमिका

नविन निर्भय यादव ।
सप्तरी, — आउँदो छठ पर्वलाई लक्षित गरी सप्तरीको राजविराज नगरपालिका–५ स्थित प. बि. मा.वि.परिसरमा रहेको पोखरीमा आज बिहान सरसफाइ अभियान सञ्चालन गरिएको छ। स्थानीय समाजसेवी, राजनीतिक दलका प्रतिनिधि र नेपाली सेनाको संयुक्त पहलमा आयोजना गरिएको सो अभियानले धार्मिक एवं सामाजिक सहकार्यको सन्देश दिएको छ।

बुधबार बिहान सञ्चालन भएको उक्त सरसफाइ कार्यक्रम जनता समाजवादी पार्टी (जसपा) नेपाल, सप्तरी का जिल्ला अध्यक्ष केदार यादवको नेतृत्वमा सम्पन्न भएको हो। कार्यक्रममा जसपाका पूर्व वडा अध्यक्ष पार्थो सरकार, समाजसेवी अनुराधा देवी शाह, लक्ष्मण यादव, नेपाली सेनाको श्री बरख गण भलुवाही ब्यारेकका जमदार अर्जुनमान श्रेष्ठको कमाण्डमा खटिएको एक टुकडी (१/९ को नफ्री) तथा स्थानीय युवाहरू गरी करिब २० जनाको सहभागिता रहेको थियो।

सफाइ अभियान अन्तर्गत पोखरीमा रहेका फोहोर हटाइएका, वरिपरिका झारपात काटिएका र पानीको सतह सफा पारिएको थियो। सहभागीहरूले पोखरीको वरिपरि सजावटका लागि आवश्यक तयारी पनि सुरु गरेका छन्।

जसपाका जिल्ला अध्यक्ष यादवका अनुसार छठ पर्वका अवसरमा सो पोखरीमा हजारौं व्रतालु तथा भक्तजनहरू आउने भएकाले सरसफाइ अभियान आवश्यक ठहरिएको हो। उनले भने, “छठ पर्व आस्था, संस्कार र सभ्यताको प्रतीक हो, त्यसैले यसलाई स्वच्छ वातावरणमा मनाउन हामी सबैले आफ्नो जिम्मेवारी निभाउनुपर्छ।”

यसैगरी नेपाली सेनाको श्री बरख गण भलुवाही ब्यारेकका जमदार अर्जुनमान श्रेष्ठले समुदायसँग सहकार्य गर्दै “सेना केवल सुरक्षा निकाय होइन, सामाजिक उत्तरदायित्व पूरा गर्ने संस्थान पनि हो” भन्ने सन्देश दिएको बताए। उनले सेनाको तर्फबाट आगामी दिनमा पनि यस्ता सामुदायिक क्रियाकलापमा सहयोग जारी रहने आश्वासन दिएका छन्।

स्थानीय बासिन्दाहरूले सेनाको सहभागितालाई सराहना गर्दै भनेका छन्, “सेनाको उपस्थितिले हाम्रो हौसला बढाएको छ, पोखरी अब छठ पर्वका लागि सफा र आकर्षक बनेको छ।”

छठ पर्व हिन्दू समुदायको प्रमुख आस्थामध्ये एक हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरिन्छ। सप्तरीमा यो पर्व अत्यन्त श्रद्धा र उल्लासका साथ मनाइने भएकाले नगरका अधिकांश पोखरी, घाट र जलाशयमा यतिबेला सरसफाइ अभियान चलाइएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button