समाज

रुपनीमा विद्युत् सर्ट भई आगलागी, एकजना घाइते, ५० लाख बढीको क्षति

पब्लिक प्रेस ।

सप्तरी, ।
सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीमा शुक्रबार राति विद्युत् सर्ट भएर भएको आगलागीमा एकजना व्यक्ति घाइते भएका छन् भने करिब रु. ५० लाख ३० हजार बराबरको सम्पत्ति क्षति भएको छ।

इलाका प्रहरी कार्यालय रुपनीका अनुसार, विहिवार राति करिब १०:०० बजे, ललित यादवको घरमा जडान गरिएको बिजुलीको मिटरमा सर्ट भएर आगलागी भएको थियो। सो आगोले ललित यादवसहित उनका छोराहरु सुनिल यादव, श्याम सुन्दर यादव र छोरी पार्वती देवी यादवको घर र सामान जलेर नष्ट भएको हो।

आगलागी नियन्त्रणको क्रममा २८ वर्षीय श्याम सुन्दर यादवको ढाड र हातमा करिब २५ प्रतिशत आगोले पोलिएर घाइते भएको प्रहरीले जनाएको छ। उनी हाल मधेश प्रदेश प्रहरी अस्पताल रुपनीमा उपचाररत छन् र उनको अवस्था सामान्य रहेको बताइएको छ।

आगो नियन्त्रणका लागि स्थानीयवासीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, कंचनरुप नगरपालिकाको दमकल, साथै नेपाली सेनाको भलुवाही ब्यारेक राजविराजबाट प्रमुख सेनानी शोभित चन्द्रको नेतृत्वमा १७ जनाको टोली दमकलसहित घटनास्थल पुगेको थियो। सबैको संयुक्त प्रयासमा आगो राति १२:१५ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको हो।

प्रहरीका अनुसार, आगलागीबाट ललित यादवको दुईवटा घर, सुन–चाँदीका गहना, नगद, अन्नपात, कपडा, भाँडा–बर्तन तथा चौपाय जलेर करिब रु. ७ लाख ५५ हजार क्षति भएको छ।
उनका छोरा सुनिल यादवको घर र सम्पत्ति जलेर करिब रु. १६ लाख ४५ हजार, श्यामसुन्दर यादवको घरमा करिब रु. १५ लाख ६५ हजार, र छोरी पार्वती देवी यादवको गरी रु. १० लाख ६५ हजार बराबरको क्षति भएको बताइएको छ।

आगलागीमा ३ वटा भैंसी र १ वटा गाई घाइते, साथै २ वटा खसी र १ वटा बाख्रा जलेर मृत्यु भएको समेत प्रहरीले जनाएको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धान अनुसार आगलागीको कारण विद्युत् तार सर्ट सर्किट भएको पुष्टि गरेको छ।

 

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button