पब्लिक प्रेस |
सप्तरीको राजविराज नगरपालिका–४, माछा हटियामा लेनदेनको विषयलाई लिएर भएको कुटपिट घटनामा एक व्यक्ति घाइते भएका छन् भने तीन जना कुटपिटमा संलग्न व्यक्तिहरू फरार भएका छन्।
पब्लिक प्रेसकाे जानकारीअनुसार महादेवा गाउँपालिका–४ का ४५ वर्षीय मो. सदिक मियाँलाई विहिवार दिउँसो राजविराज बसोबास गर्ने मो. बसिर (५० वर्ष), मो. नसिर (३५ वर्ष) र मो. अजमिर (१७ वर्ष) ले सामूहिक रूपमा कुटपिट गरेका हुन्।
लेनदेनसम्बन्धी विवादका कारण भएको भनिएको यस कुटपिटका क्रममा मो. सदिक मियाँको शरीरका विभिन्न भागमा चोट लागेको छ।
प्रारम्भिक उपचार राजविराजस्थित छिन्नमस्ता अस्पतालमा गरिएको थियो भने अवस्था मध्यम देखिएपछि थप उपचारको लागि उनलाई न्युरो अस्पताल, विराटनगर मोरङ पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय राजविराज सप्तरीले घटनाको जानकारी पाएपछि तत्काल प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली घटनास्थलतर्फ खटिएको जनाएको छ। कुटपिटमा संलग्न तीनै जना आरोपी हाल फरार रहेका छन् र उनीहरूको खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यो घटनालाई सामूहिक कुटपिटका रूपमा लिइएको छ र थप अनुसन्धान भइरहेको छ।










