समाज

गोलीकाण्डः लालु यादवको मृत्युबारे इन्सेक र एड्भोकेसी फोरमको उच्चस्तरीय छानबिन

राजगढ (सप्तरी)
सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२ कमलपुरमा साउन २० गते राति भएको गोलीकाण्डमा स्थानिय लालु यादवको मृत्यु भएपछि, घटनाको सत्यतथ्य पत्ता लगाउन मधेस प्रदेश कार्यालय इन्सेक (अनौपचारिक क्षेत्र सेवा केन्द्र) र एड्भोकेसी फोरम नेपालका उच्चस्तरीय प्रतिनिधिहरूले आइतबार घटनास्थलमा पुगेर विस्तृत अनुगमन गरेका छन्।
यो टोलीले घटनास्थल मात्र होइन, मृतकको घर, आफन्त तथा प्रत्यक्षदर्शीहरूसँगको अन्तर्वार्ता, साथै जिल्ला प्रशासन र प्रहरी कार्यालयसँगको छलफलमार्फत सूक्ष्म जानकारी संकलन गरेको हो।

घटनास्थलमा प्रत्यक्ष अनुगमन
मधेस प्रदेश इन्सेक कार्यालयका संयोजक राजु पासवान, सप्तरी ईन्सेक जिल्ला प्रतिनिधि नविन यादव, एड्भोकेसी फोरम नेपाल मधेस प्रदेश कार्यालयका संयोजक राजकुमार महासेठ, प्रेस सेनानीका पत्रकार वैधनाथ झा लगायतको टोली बिहानै राजगढ पुगेको थियो।
टोलीले सर्वप्रथम मृतक लालु यादव घटनास्थलको भौगोलिक अवस्था, गोली लागेको स्थान, गोलीको दिशा र सम्भावित दूरीका आधारमा बिन्दुवार विवरण तयार पारियो।

परिवार र छिमेकीसँग सोधपुछ
अनुगमन टोली मृतकको घरमा पुग्दा शोकाकुल वातावरण थियो। उनकी श्रीमतीले घटनाको रातको अवस्थाबारे भावुकतापूर्वक बयान दिँदै प्रहरीको गोलीले आफ्ना श्रीमानको ज्यान गएको दाबी गरिन्।

छिमेकी र स्थानीयवासीहरूले पनि घटनाबारे आफनो धारणा राख्दै प्रहरीको अपरेसनको प्रकृति, गोली चलाएको समय र स्थानबारे आफ्नो प्रत्यक्ष अनुभव सुनाए। सबै बयानहरू लिखित रूपमा टिपोट गरियो।

सरकारी निकायसँग भेटघाट

अनुगमन टोलीले जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख भोला दाहाल र जिल्ला प्रहरी कार्यालयका एसपी गौतम केसीसँग छुट्टाछुट्टै भेटघाट गरेको थियो।
भेटमा टोलीले घटनाबारे सरकारी पक्षको आधिकारिक भनाइ सुनेको र सुरक्षाकर्मीको कार्यप्रणाली, अपरेसनका आदेश र प्रक्रियाबारे प्रश्न उठाएको ईन्सेक जिल्ला प्रतिनिधि नविन यादवले बताए।
जिल्ला प्रशासन प्रमुखले विषयमा अनुसन्धान जारी रहेको र सबै पक्षका बयान लिएर निष्कर्ष निकालिने बताए। प्रहरी प्रमुखले भने अपरेसनको उद्देश्य मदिरा तस्करी नियन्त्रण रहेको स्पष्ट पार्दै घटनामा भएको गोली प्रहारबारे आन्तरिक छानबिन भइरहेको जनाए।

घटनाको पृष्ठभूमि
साउन २० गते राति, राजगढमा प्रहरीले “मदिरा तस्करी नियन्त्रण अपरेसन” सञ्चालन गरेको थियो। प्रहरीका अनुसार, अपरेसनको क्रममा परिस्थितिजन्य कारणले गोली प्रहार भएको हो।
तर, स्थानीयवासी र मृतकका आफन्तले यस घटनालाई ‘योजनाबद्ध हत्या’का रूपमा लिएका छन्। उनीहरूको दाबी अनुसार, अपरेसनको बहानामा लक्षित व्यक्ति माथि गोली चलाइएको हो।
आधिकारिक तथ्यांक अनुसार, घटनामा प्रयोग गरिएको हतियार ९ एमएम बेरेटा पिस्तोल थियो, जसको गोली लागेर लालु यादवको घटनास्थलमै मृत्यु भएको थियो। उहाँ साेही वडाकाे खुबलाल जग्रनाथ शक्ति अधारभुत विधालयकाे व्यवस्थापन समितिका अध्यक्ष पनि थियो ।

मानव अधिकार पक्षको चासो

ईन्सेक र एड्भोकेसी फोरम दुवै संस्था मानव अधिकार संरक्षणका क्षेत्रमा सक्रिय छन्। यी संस्थाहरूले प्रहरीको बल प्रयोग, अपरेसनको कानुनी औचित्य, आवश्यक चेतावनी प्रक्रिया र गोली चलाउने अवस्थाको मूल्यांकन गर्दै छन्।
मधेस प्रदेश संयोजक राजु पासवानले भने, “घटनास्थलको निरीक्षण र प्रत्यक्षदर्शीका बयानहरूले गम्भीर प्रश्नहरू उठाएका छन्। गोली प्रहार गर्नु अघि अन्य विकल्प प्रयोग गरिएको कि नगरिएको भन्ने विषय स्पष्ट हुनुपर्नेछ।”
एड्भोकेसी फोरमका संयोजक राजकुमार महासेठले भने, “मानव अधिकार उल्लंघनको आशंका भएको यो घटनामा निष्पक्ष, पारदर्शी र समयमै छानबिन हुनु अत्यावश्यक छ।”

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button