राजनीति

तिलाठी कोईलाडी गाउँपालिकामा परिवर्तनका अगुवा: सिके राउत र नेहाल सिंहको पहलमा ऐतिहासिक विकास बजेट

 

पब्लिक प्रेस ।

सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका विगतका वर्षहरूमा विकासको दृष्टिमा सुस्त गतिको प्रतीक बनिरहेको थियो। जिल्ला स्तरमा उच्च बजेट पाउने पालिकामा गनिन सकिए पनि त्यस अनुरूपको परिवर्तन जनजीवनमा महसुस गर्न सकिने अवस्था थिएन। तर हाल जनमत पार्टीको नेतृत्वमा पालिकाभित्र विकास योजनाहरूको श्रृंखला सुरु भएपछि, स्थानीय तहमा अपेक्षाभन्दा ठूलो उत्साह र राजनीतिक बहस पैदा भएको छ।

२०८२/८३ को आर्थिक वर्षमा गाउँपालिकाले सयभन्दा बढी योजना स्वीकृत गरी कार्यान्वयनको चरणमा प्रवेश गरेको छ, जसमा शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, खानेपानी, सडक सुधार, कृषि प्रवर्द्धन तथा सामाजिक समावेशिताका कार्यक्रमहरू समावेश छन्। योजना कार्यान्वयनको अगुवाइ जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत र पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता नेहाल सिंहले गरिरहेका छन्।

नेहाल सिंहका अनुसार, यो प्रयास केवल योजना ल्याउने मात्र होइन, जनताको आवश्यकता र सहभागितामा आधारित विकासलाई सुनिश्चित गर्नु हो। उनले स्थानीय तहका वडाध्यक्षहरूसँग छलफल गरी सबै वडामा योजनाको स्वीकृति गराएका छन्।

वडास्तरमा योजना संख्या यसप्रकार छ — वडा नं. १ मा १७, वडा नं. २ मा ९, वडा नं. ३ मा ८, वडा नं. ४ मा २०, वडा नं. ५ मा १८, वडा नं. ६ मा २, वडा नं. ७ मा ८, र वडा नं. ८ मा ९ योजना समावेश गरिएको छ।

उल्लेखनीय कुरा के छ भने योजना मात्र नभई गुणस्तर, पारदर्शिता र अनुगमन पनि सुनिश्चित गर्ने तयारी गरिएको छ। जनमत पार्टीको नेतृत्वमा वडास्तरमा नागरिक समन्वय समिति गठन भइरहेको छ, जसमा शिक्षक, युवाहरू, महिला समूह, सञ्चारकर्मी र सामाजिक अभियन्ताहरू रहनेछन्। यो समितिले कामको प्रगति, निर्माणको स्तर र समयसीमा हेर्ने जिम्मेवारी लिनेछ।

योजना कार्यान्वयनसँगै जनतामा सकारात्मक प्रतिक्रिया देखिएको छ। वडा नं. ५ का युवा संताेष भन्छन्, “पहिला नेताले वाचा गर्थे मात्र, अब योजनाहरू गाउँमै देखिन थालेको छ। हामी आफैं कामको अनुगमन गर्न पाएका छौं। यो सजग विकास हो।”

वडा नं. १ का विजय यादवकाे भनाइ छ, “हामीले जुन योजना माग गरेका थियौं—अब त सडक पिच हुने हुँदैछ। विद्यालयमा नयाँ भवन बनाउने काम पनि अघि बढेको छ। जनप्रतिनिधि होस् या पार्टी—सबै सक्रिय छन्।”

यद्यपि केही वडामा योजनाको संख्या कम भएको भन्दै असन्तुष्टि पनि देखा परेको छ। वडा नं. ६ मा मात्र दुई योजना पुगेको देख्दा त्यहाँका जसपा समर्थक युवाहरू ले राजनीतिक विभेदको आरोप लगाएका छन्। उनीहरूको भनाइ छ कि जनमत पार्टीले आफ्ना कार्यकर्ता सक्रिय वडामा बढी योजना पु‍र्‍याएको छ।

तर जनमत पार्टीकाे केन्द्रीय सदस्य नेहाल सिंहले यस आरोपलाई खारेज गर्दै योजनाको वितरण जनसंख्या र आवश्यकता आधारित भएको स्पष्ट पारेको छ। नेहाल सिंह भन्छन्, “वडा नं. ६ सानो वड हो, प्रस्ताव पनि कम आएको थियो। हामी गुणस्तरमा सम्झौता गरेका छैनौं। योजना साना होलान्, प्रभाव ठूला हुनेछ।”

गाउँपालिकाको विकास बजेट विगतमा प्रशासनिक खर्चमा खेर जाने आरोप लाग्दै आएको थियो। यसपटक भने बजेटको ७० प्रतिशतभन्दा बढी हिस्सा विकास निर्माणमा केन्द्रित गरिने घोषणा गरिएको छ। जनमत पार्टीको रणनीति अनुसार योजनाको कार्यान्वयनले आमजनलाई प्रत्यक्ष लाभ दिनुपर्नेछ, नत्र त्यसको मूल्य पुनः जनताले बुझ्नेछन्।

तिलाठी कोईलाडीमा सुरु भएको योजनामूलक अभियानले गाउँको राजनीतिक चेतना समेत बदल्दैछ। विकासले जनतालाई नेता मात्र होइन—नीति र पार्टीको मूल्याङ्कन गर्न प्रेरित गरिरहेको छ।

अबको चुनौती भनेको — योजना समयमा पूरा गर्नु, निर्माण गुणस्तरीय बनाउनु, पारदर्शिता कायम गर्नु, र वडास्तरको सहभागिता सुनिश्चित गर्नु हो। यदि यी सबै पक्षहरू जिम्मेवारीपूर्वक पूरा भए भने, तिलाठी कोईलाडी केवल सप्तरीमै होइन, प्रदेशभरि नै सकारात्मक उदाहरण बन्न सक्नेछ।

जनताले विश्वास गरेका छन्, नेताहरूले पहल गरेका छन्—अब समय परिणामको हो ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button