पब्लिक प्रेस ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर २, लाैनिया टोलकी एक महिलाको आगलागीबाट घाइते भई उपचारका क्रममा मृत्यु भएको छ।
मंसिर २८ गते स्थानीय बाबु राम मण्डलकी श्रीमती अन्दाजी २८ वर्षीया अमृता मण्डल आफ्नै गाई गोठमा आगो बाली घुर ताप्ने क्रममा साडीमा अचानक आगो लाग्दा गम्भीर घाइते भएकी थिइन्। आगलागीबाट उनको शरीरको विभिन्न भाग गरी करिब ४० प्रतिशत जलेको थियो।
घाइते अवस्थामा उनलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज लगिएको र त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि बिराटनगर हुँदै काठमाडौं लगिएको थियो। अवस्था गम्भीर भएपछि मंसिर २९ गते किर्तिपुर अस्पताल, काठमाडौंमा भर्ना गरिएको थियो।
दीर्घ उपचारका क्रममा मिति पुस १४ गते अमृता मण्डलको मृत्यु भएको हो। मृतकको शव हाल सोही अस्पतालमा रहेको छ।
घटनाबारे जानकारी दिँदै लौनिया टोलका वडा अध्यक्ष कमल मण्डलले आगलागी पूर्ण रूपमा दुर्घटनावश भएको र उपचारका लागि परिवारले हरसम्भव प्रयास गरे पनि ज्यान जोगाउन नसकिएको बताए।
घटनापछि स्थानीय क्षेत्रमा शोकको वातावरण छाएको छ



